प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतको प्रतिरोधस्वरुप नेपालले टिष्टा, काँगडासम्म भएको आफ्नो नक्सा संसद भवनमा राख्ने प्रस्ताव गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै नेता पन्तले भारतले नयाँ संसद् भवनमा अखण्ड भारतको भित्तेचित्र राखेको प्रसंग उल्लेख गर्दै नेपालको संसद भवनमा पनि टिष्टा, काँगडासम्म भएको नक्सा राख्न प्रस्ताव गरेका हुन्।

उनले भने, – ‘हामी नेपालीको चित्त बहुत छिटो बुझ्छ। हाम्रो प्रधानमन्त्रीले यहाँ आएर भन्नुभयो, मैले उठाएँ नक्साको कुरो त्यहाँको संसदमा राखेको। तर हिजो भारतीय विदेशमन्त्री र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पनि पत्रकार सम्मेलन गर्दै प्रष्ट के भन्नुभएको छ भन्दाखेरी त्यहाँको विदेशमन्त्रीले यो बंगलादेशले पनि उठायो, पाकिस्तानले पनि उठायो। नेपालले पनि उठायो। तर हाम्रो मित्र देश नेपालले चित्त बुझाइसक्यो। के नेपालले चित्त बुझाएको हो? यदी भारतले त्यसलाई सांस्कृतिक र ऐतिहासिक नक्शा भनेर आफ्नो संसदमा राखिराख्न पाउँछ भने हामीले सतलौजसम्म पुगेको हाम्रो सीमाना, राबि नदिको छेउसम्म पुगेको सीमाना, टिष्टा काँगडालाई पनि सामेल गरेको नक्सालाई हाम्रो संसदमा भारतले त्यो नक्सा नहटाएसम्म हामीले पनि आफ्नो संसदमा टाग्दा के हुन्छ ?’

नागरिक न्युजबाट साभार गरिएको छ ।