विराटनगरस्थित कोसी अस्पतालले हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्दै आएको छ। शुक्रबार अस्पतालले पत्रकारसँग अन्तरक्रिया आयोजना गरी अस्पतालले निःशुल्क हाइड्रोसिलको उपचार गरिरहेको जानकारी दिएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रविन्द्रराज सिंहले कोसी अस्पतालले हाइड्रोसिलको निःशुल्क शल्यक्रिया र उपचार गरिरहेको जानकारी दिए। उनले चालु आर्थिक वर्षको हालसम्म अस्पतालले ७४ जनाको निःशुल्क शल्यक्रिया र उपचार गरिसकेको बताए।

सिंहले भने, ‘हाइड्रोसिलका बिरामी उपचारका लागि आए अस्पतालले निःशुल्क शल्यक्रिया र उपचार गर्छ।’

मोरङका विभिन्न ग्रामीण भेगमा हाइड्रोसिलका धेरै बिरामी रहे पनि उपचारका लागि न्यून मात्रै आइरहेको उनले जानकारी दिए। मेसु सिंहले शल्यक्रियाबाट हाइड्रोसिल पूर्ण रूपमा निको हुने र पुनः हाइड्रोसिल नहुने पनि स्पष्ट पारे।

अस्पतालका मेडिकल रेकर्ड अधिकृत गोविन्द कटुवालले कोसी अस्पतालले आर्थिक वर्ष ०७७/७८ मा १६, ०७८/७९ मा ६२ र ०७९/८० मा ७४ जनाको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिए।

नेपाल सरकार सरुवा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा कोसी अस्पताल विराटनगरले हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया र उपचार गर्दै आएको कटुवालले बताए।

यो न्युज नागरिक न्युजबाट साभार गरिएको हो ।