फाइल तस्विर

अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज बुधबार नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् ।

गत २७ भदौमा चीनको नेसनल पिपल्स कंगे्रस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगतै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

ट्रडो भ्रमण’bout अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तक्र्रियाका लागि नेपाल आउन लागेको’ उल्लेख छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्षनेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।

नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर जारी छ । पछिल्लो समय चीनका वरिष्ठ नेताको नेपाल भ्रमणलगतै अमेरिकी उच्च अधिकारीको भ्रमण अर्थपूर्णमा रूपमा हेरिएको छ । उनले नेपाल रहँदा ‘चीन र रुसले फैलाएको मिथ्यापूर्ण सूचनाको कसरी प्रतिवाद गर्ने ?’ भन्ने विषयलाई प्राथमिकतासाथ विभिन्न व्यक्तिसँग छलफल गर्नेछिन् ।

‘नेपालमा एमसीसी परियोजना विषयमा चीनले भ्रमपूर्ण सूचना फैलाएको’ भन्दै अमेरिकाले आरोप लगाएको थियो । तर, एमसीसी विषयमा चीनलाई जोड्नु गलत हुने भन्दै स्वतन्त्र देशमाथि अमेरिकाले हस्तक्षेप गरेको भनी टिप्पणी गरेको थियो । उनले नेपालमा रहँदा रुस र चीनले विश्वमा कसरी भ्रमपूर्ण र मिथ्या सूचना जारी गरिरहेका छन् भन्ने’bout धारणा राख्ने छिन् ।

यसअघि, गत ३० असारमा नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले चीनको दुष्प्रचार अभियान सामना गर्दै नेपालको संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको बताएका थिए ।

काठमाडौंमा दूतावास नेतृत्व गर्न आउन लागेका थम्प्सनले अमेरिकी सेनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइ क्रममा सो कुरा बताएका थिए । नेपालका लागि प्रस्तावित राजदूत थम्प्सनले चीन मामिलामा बोलेको भन्दै नेपालस्थित चिनियाँ दूतावासले खण्डन गर्दै प्रतिवाद गरेको थियो ।

सहायक विदेशमन्त्री ट्रडोले रुस र चीनबाट गलत सूचनाको प्रतिरोध, अफगानिस्तानका जनतालाई जारी अमेरिकी समर्थन, सामाजिक समानता, मिडिया स्वतन्त्रता र जलवायु परिवर्तनको मुद्दाको विषयमा नेपालमा विभिन्न व्यक्तिसँग छलफल गर्ने कार्यक्रम छ ।

नेपाल बसाइमा ट्रडोले अमेरिकी राजदूत सम्पदा संरक्षण कोषले सहयोग गरिरहेका पाटन दरबार क्षेत्र र वसन्तपुर दरबार क्षेत्रलगायत सांस्कृतिक सम्पदा अवलोकन गर्ने छिन् । उनले ग्लोबल पब्लिक अफेयर्स दुबई क्षेत्रीय मिडिया हबको पनि भ्रमण गर्ने छिन् भने मिडियासँग पनि अन्र्तक्रिया गर्ने कार्यक्रम छ ।

१२ दिने भ्रमणमा निस्केकी सहायक विदेशमन्त्री ट्रडोले अमेरिकी कूटनीतिक नियोगसँग नीति तथा कार्यक्रम विषय प्राथमिकतामा राख्ने अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । नेपालपछि उनी संयुक्त अरब इमिरेट्स जाने छिन् । त्यसपछि मध्य एसियाका उज्वेकिस्तान र किर्गिस्तान जाने योजना छ ।

यसअघि, नेपालमा एमसीसी परियोजना लागू भएपछि निरन्तर अमेरिकी उच्चअधिकारीको भ्रमण भइसकेको छ । गत वैशाख पहिलो साता अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङले नेपाल भ्रमण गरेकी थिइन् । ९ देखि ११ वैशाखसम्म अमेरिकी सांसदको पाँच सदस्यीय टोली नेपाल आइपुगेका थिए ।

अमेरिकाको माथिल्लो सदन सिनेट सदस्य किस्टर्न जिलिब्रान्ड (न्युयोर्क) नेतृत्वमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्यान्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र तल्लो सदन प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कंगे्रसनल डिस्ट्रिक्ट, न्युयोर्क) काठमाडौं आएका थिए ।

त्यसअघि नेपालले १५ फागुन २०७८ मा एमसीसी अनुमोदन गर्नुअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेका थिए ।

त्यस्तै, अमेरिकी उपमन्त्री उज्रा जियाले ६ देखि ८ जेठसम्म नेपाल भ्रमण गरेकी थिइन् । तिब्बत मामिला हेर्ने उपमन्त्री जियाले नेपालमा रहँदा तिब्बती शरणार्थी र नेपालका राजनीतिक दलसँग भेट गरेकी थिइन् । उनको भ्रमण गत १२ साउनमा एमसीसी पास भएपछि पुनः दोस्रोपटक सहायक विदेशमन्त्री पछिल्लो समय पुनः नेपाल भ्रमणमा आएका थिए ।

राजधानी न्युजबाट साभारछ ।