रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा भदौ २९ गते शुक्रबार देखि दुई नेपाली चलचित्र एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ एकैसाथ प्रदर्शनमा आउदै छन् ।

प्रदर्शनमा आउने २ चलचित्र मध्ये झरना थापाको निर्देशन रहेको फिल्म ‘एक भगवत गीता’ को नामलाई लिएर केहि समय यता विवाद उत्पन्न भएको थियो । जुन पछि गएर शीर्षक परिवर्तन गरेर एक भागवत र एक गीतामा सहमति भएर टुंगिएको हो ।

हिन्दू धर्मग्रन्थ ‘श्रीमद् भागवत गीता’को नाममा फिल्म बनाएको भन्दै एक दर्जन धार्मिक संस्थाहरूले आपत्ति जनाउदै
नाम परिवर्तनको माग राख्दै चलचित्र विकास बोर्ड र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा समेत निवेदन बुझाएका थिए ।

उक्त नामले धार्मिक आस्थामा चोट पुग्ने बताउँदै नाम परिवर्तन नभएसम्म फिल्मलाई बोर्डबाट सेन्सरका लागि सिफारिस नगरिदिन धार्मिक संस्थाहरूको अनुरोध थियो ।

त्यसपछि विकास बोर्डले सेन्सर सिफारिसलाई मध्येनजर गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । फिल्मको टिम, धार्मिक संस्थाका प्रतिनिधि, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित अन्य फिल्मकर्मीहरूको समेत सहभागितामा २ घण्टा लामो छलफल भएको थियो । पाँचौं पटकको उक्त छलफलपछि नाम परिवर्तन गर्नेमा दुवै पक्षबीच सहमति जुटेको हो ।

फिल्ममा विपिन कार्की, सुहाना थापा र धिरज मगरको शीर्ष भूमिका छ । सुनीलकुमार थापा फिल्मका निर्माता हुन् । सहमति जुटेसँगै नयाँ शीर्षकको पोस्टर समेत निर्माण पक्षले सार्वजनिक गरिसकेको छ ।
…………………………………………………………………………………………………………………………..

दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘नांगो गाउँ’मा चुनावी सफलताका लागि हुने राजनीतिक दाउपेच देखाइएको छ । समाज सुधार्ने उद्देश्यले शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउँदै आएका शिशिर वाङ्देलबीचको देखाइएको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ, मिरुना र शिशिरसँगै कर्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, सविन बाँस्तोला, शंकर आचार्य, निमा पाण्डे, केशव राई, इष्टु कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् ।

क्लक वर्क क्रियसनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता जय श्रेष्ठ हुन् । आलोक शुक्लाले छायांकन गरेको फिल्मको सम्पादन बनिश शाहले गरेका छन् ।

अब यी २ चलचित्र मध्ये बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।