नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। पहिलो मतदान उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरेका छन्। प्रदेशसभा तर्फबाट भने नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरेका छन्। मतदानका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ।

सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ। निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार रहेका छन्।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ। मतदानका लागि मतदाता बिहान नौ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध हुनुभएको थियो भने उम्मेदवारहरू पनि मतदान केन्द्रमा आइसकेका छन्। मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

नागरिक न्युजबाट साभार छ ।