म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ३ की अञ्जु परियार सधैजसो भोकभोकै विद्यालय जान्छिन्। बगरफाँटको कोटखोलास्थित सरकारी जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएपछि आमा विष्णु नेपालीले अर्कैसँग बिवाह गरी मञ्जुलाई छोडेर गएपछि मञ्जुले पेटभरी खान पाएकी छैनन्।

भोकभोकै विद्यालयमा जाने मञ्जुको पेटमा भोकले आगो बाल्दा आँखाबाट आँसु खस्छ। मञ्जु जस्तै ४ मा अध्ययनरत सृष्टि विकलाई समेत आमाले छोडेर गइन्। सृष्टि विक बुबा र आमा दुवैले अर्को बिवाह गरेपछि आमाबुबा हुँदाहुँदै पनि असहाय बनेकी छिन्। मंगला गाउँपालिका–१, पूर्णगाउँका बुबा सुनिल विक र आमा सविता विकले अर्को बिवाह गरेर अलग अलग भएपछि छोरी सृष्टिको बिचल्ली भएको हो।

अञ्जु र सृष्टिसँगै एउटै विद्यालयमा कक्षा ६ मा अध्ययनरत पुजन फगामीकाे अवस्था पनि उस्तै छ। पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ वाइन्दाफाँट बस्ने फगामीको अवस्था पनि एउटै पोखरीको पानी जस्तै छ। पुजनका बुबा रिम फगामीको २०७८ साल कार्तिकमा मृत्यु भएपछि आमा कृष्णा फगामीले अर्कैसंग बिहे गरेकी र पुजन अहिले साथीहरुको घरमा आश्रय लिइरहेका विद्यालयकी शिक्षिका घनदेवी घर्तीले बताइन्। ‘भोकभोकै आउने विद्यार्थीको अवस्थाले दैनिक भावुक बनाउँछ,‘ उनले भनिन्, ‘अत्यन्त दयनीय अवस्थाका विद्यार्थीको पढाई भने राम्रो छ।’

छिमेकी र बाटोमा हिँड्ने बटुवाले दिएको खाएर विद्यालयमा आउने विद्यार्थीले दिवा खाजामा धेरै खोज्ने गरेको शिक्षकको भनाइ छ। ‘नजिकै बसेर अवस्था हेर्दा जो कोहीको आँखा आँसुले भरिन्छ, ‘विद्यार्थीको मुखबाट निस्कने पीडाले भावुक बनाउँछ,’ स्थानीय एवम् पत्रकार धुब्रसागर शर्माले भने। सदरमुकाम बेनीबजार नजिकै रहेको विद्यालयमा करिब ७७ जना विद्यार्थीहरु मध्ये १४ जनाको अवस्था हेर्न नसक्ने रहेको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताए।

उनले बुबाको मृत्यु भएका, आमाले अर्कैसँग बिवाह गरी गएका साथै आमा र बुबा दुबैको माया नपाएका विद्यार्थीहरुलाई सहयोगको आवश्यकता रहेको बताए। पीडित विद्यार्थी मञ्जुले खाजा र खाना पाइने लोभमा विद्यार्थीहरु दैनिकरुपमा विद्यालयमा आउने गरेको बताइन्। ‘एक छाक नखाएर धेरै दिन सुतेको छु,‘ मञ्जुले भनिन्,’मजदुरीमा जाने दाई कहिलेकाहीं आउनुहुन्छ।’

उनले पेटभरी खान पाए राम्रोसँग पढ्न सक्ने बताइन्। कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन्। अधिकाँश अभिभावकहरु दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेको विद्यालयले जनाएको छ। यी असहाय विद्यार्थीहरुलाई सहयोग गर्न चाहने मनकारी व्यक्तिहरुले ९८४७६४९८६३ मा सम्पर्क गर्न सक्ने विद्यालयले जनाएको छ।

हरिकृष्ण गौतमका लेखहरु :