रोशन दिप –  बागमती प्रदेशको राजधानी हेटौडामा आउँदो चैत २४ गतेबाट चौंथो संस्करणको वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । हेटौडा उपमहानगरपालिकाको सहयोगमा तथा नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो । मंगलबार दिउँसो उपमहानगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेले प्रतियोगिताबारे जानकारी दिएका छन् ।

स्थानीय तहका वडाहरुबीच प्रतिस्पर्धा गराएर नगरस्तरीय टिमहरु तयार गर्नका लागि वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको नगर खेलकुदका अध्यक्ष घिमिरेले बताए । खेलको माध्यमबाट टिमहरुबीच सुमधुर सम्बन्ध कायम राख्ने,  खेलको माध्यमबाट आत्मविश्वास तथा सामाजिक समानता बढाउने अपेक्षा गरेर प्रतियोगिताको अयोजना गर्न लागेको अध्यक्ष घिमिरेको भनाई छ ।


हेटौडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा उपमहानगरभित्रका १९ वटा वडाका खेलाडीहरु सहभागी हुन पाउने छन् । प्रतियोगितामा सहभागी हुने खेलाडीहरु सम्बन्धीत वडाको स्थायी वासिन्दा हुनुपर्ने, सम्बन्धीत वडाको नागरिकता वा बसाइसराईको कागजात हुनुपर्ने र राष्ट्रिय टिममा आवद्ध नभएको खेलाडी उनले बताएका छन् ।

नकआउटको अधारमा संचालन हुने प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँ, उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ र तृतीय हुने टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ठ फरवार्ड, उत्कृष्ठ किपर, उत्कृष्ठ प्रशिक्षक र उत्कृष्ट डिफेन्सले ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।