रुसको निरन्तरको आक्रमणबीच युक्रेनबाट १५ लाखभन्दा बढी मानिस बाहिरिएका छन्। युद्ध सुरु भएको दसौं दिनसम्म उक्त संख्यामा मानिसहरूले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघअन्तर्गतको शरणार्थीसम्बन्धी उच्चायुक्त फ्लिपो गान्डीले जानकारी गराएका छन्।

युरोपमा दोस्रो विश्वयुद्धपछि हाल शरणार्थी समस्या तीव्र गतिमा बढिरहेको उच्चायुक्तले बताएका छन्। युक्रेनका मुख्य सहरहरूमा रुसी आक्रमण बढिरहँदा दक्षिण सहर मरिपोलमा युद्धविरामको घोषणा गरिएको छ। त्यहाँ रहेका नागरिकहरूलाई बाहिर निकाल्न र मानवीय सहायताका लागि विभिन्न सहरमा आंशिक युद्धविराम भए पनि कतिपय ठाउँमा अहिले पनि आक्रमण जारी छ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किीले पश्चिमा गठबन्धनसँग पुनः युक्रेनको आकाशमा ‘नो फ्लाई जोन’ घोषणा गरेका छन्। उनले शनिबार ३ सय अमेरिकी सांसदलाई भिडियो कलमा कुरा गर्दै यस्तो आग्रह गरेका छन्। उनले शनिबार राति अमेरिकी राष्ट्रपतिसँग पनि कुरा गरेका थिए।

नाटोले जेलेन्स्कीको आग्रहलाई निरन्तर रूपमा अस्वीकार गर्दै आएको छ। युक्रेनमा नो फ्लाई जोन घोषणा गर्दा यसले रुससँग पश्चिमा शक्तिको प्रत्यक्ष सैन्य टकराव हुन सक्ने सम्भावना छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘नो फ्लाई जोन’ घोषणा गरे त्यसलाई युद्ध कार्यका रूपमा लिने चेतावनी दिएका छन्।

युक्रेनले रुसी सैन्य फोर्सले नागरिकलाई लक्षित गरेर आक्रमण गरिरहेको आरोप लगाएको छ। उपप्रधानमन्त्री ओलाहा स्टेफेनिस्यानाले युक्रेनी सेनाले रुसी फौजको कडा प्रतिवाद गरेपछि रुसले नागरिकलाई निसाना बनाएको आरोप लगाएका छन्।

‘रुसले अस्पताल, बालबालिका पढ्ने नर्सरी र विद्यालयलाई निसाना बनाइरहेको छ,’ उनले बिबिसीसँग भनेका छन्। विश्व स्वास्थ्य संगठनले पनि युक्रेनको स्वास्थ्य सेवामा हमला भइरहेको पुष्टि गरेको छ। यसले कैयौंको मृत्यु र घाइते भएको संगठनका महानिर्देशक टेन्डोर्सले भनेका छन्।

शान्ति कायम गर्न आग्रह

संयुक्त राष्ट्रसंघसहित शान्तिस्थापनाका क्षेत्रमा कार्यरत विश्वका विभिन्न संघसंस्थाले युक्रेनमाथिको आक्रमण तत्काल रोकेर कूटनीतिक र शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघले युक्रेनमाथिको आक्रमण रोकिनुपर्ने बताउँदै आएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कूटनीति र संवादको विकल्प नभएको बताउँदै आएका छन्।

शान्ति स्थापनाका क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय संस्था हेभन्लि कल्चर वल्र्ड पिस रेस्टोरेसन अफ लाइफ (एचडब्लुपिएल) ले युक्रेनबाट रुसले आफ्नो सेना हटाउन माग गरेको छ। संस्थाका अध्यक्ष मान ही लीले एक विज्ञप्ति जारी गर्दै शान्ति स्थापनाका लागि विश्वव्यापी सहयोगका पक्षमा वकालत गर्न सबैसँग आग्रह गरेका छन्। उक्त संस्थाले रुस र युक्रेनको वर्तमान संकटको शान्तिपूर्ण समाधानका लागि संयुक्त राष्ट्रसंघलाई समर्थन गर्दै शरणार्थीहरूलाई सहयोग गरेर मानवता प्रदर्शन गर्न सबै राष्ट्रसँग आग्रह गरेको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो