हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को रिक्त वडा अध्यक्ष पदमा १४ जनाको उम्मेद्वारी दर्ता भएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ५ जना स्वतन्त्र उम्मेदवार सहित ९ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका हुन् ।

हेटौंडा १२ को अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट रविकुमार प्रधान (रविन), नेकपा एमालेको तर्फबाट राजेश नगरकोटी, नेपाली कांग्रेसको तर्फबाट अर्जुनप्रसाद तिवारीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशाबिर बल, नेकपा एकीकृत समाजवादीबाट बलराम बल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भ्लोन, नेपाल मजदुर किसान पार्टीबाट फूलमाया तितुङ, मंगोल नेशनल अर्गनाईजेसनबाट दिपा लामा, जनता समाजवादी पार्टीबाट छबिलाल वाईबाले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वतन्त्र रुपमा ५ जनाकोे उम्मेदवारी परेको छ । छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार, कुमार पोखरेल, अर्जुन घलान र युनेश लामा स्याङतानले वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएको मु्ख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा विजयी हुनुभएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख पदमा निर्वाचित भएपछि सो वडामा वडा अध्यक्ष पद रिक्त रहेको थियो । यस वडामा ४ हजार १ सय ७४ महिला, ३ हजार ८ सय ७८ पुरुष र १ अन्य गरी कुल ८ हजार ५३ मतदाता रहेका छन् ।

समाचार / तस्विर – छाहारी नेटवर्क डटकम बाट

रातो समाचार संवाददाता
थप जानकारी