हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष फूर्वादोर्जे लामाले हेटौंडा–९,स्थित सिआन पुर्नस्थापना केन्द्रको अवलोकन भ्रमण गरेका छन् । वडाध्यक्ष फूर्वादोर्ज लामासहित सामाजिक अभियान्ता शन्त लामा, सन्त गौतम र भुवन मैनालीले सिआन पुर्नस्थापना केन्द्रको भ्रमणसँगै अवलोकन गरेका हुन् ।

भ्रमणका क्रममा सिआनमा सञ्चालन भइरहेका उपचार, पुनर्स्थापना, मनोसामाजिक परामर्श तथा सामाजिक पुनःएकीकरण, कृषि तथा पशुपन्छीपालन सम्बन्धी गतिविधिहरूको स्थलगत अवलोकन गरिएको हो । भ्रमणको क्रममा केन्द्रका प्रतिनिधिहरू तथा उपचारत व्यक्तिहरुसँग उनीहरुले अन्तरक्रिया समेत गरेका थिए ।

वडा अध्यक्ष लामाले लागुऔषध दुर्व्यसनी न्यूनीकरण तथा पुनर्स्थापनाको क्षेत्रमा सिआनले पुर्‍याइरहेको योगदान प्रशंसा गरे । उनले यस किसिमका संस्थाहरूलाई स्थानीय सरकारले गर्नुपर्ने आवश्यक सहयोग, समन्वय तथा आगामी बजेट निर्माण प्रक्रियामा समेत सक्रियरूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सकारात्मक उद्देश्यका साथ समाज रूपान्तरणको अभियानमा क्रियाशील रहँदै आएकोमा सिआन पुनर्स्थापना केन्द्रलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सहभागी सामाजिक अभियन्ताहरूले समेत दुर्व्यसन विरुद्धको अभियानमा सबै पक्षको सहकार्य आवश्यक रहेको जोड दिँदै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउने धारणा राखे ।