हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित गणपति बाबा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले नजिकिदै गरेको हिन्दु धर्मावलम्बी नारीहरुको महान पर्व तीजको अवसरमा तीनजना सदस्यलाई सम्मान गरेको छ । सहकारीले तीज विशेष कार्यक्रमको आयोजना गर्दै तीन महिला शेयर सदस्यलाई सम्मान गरेको हो ।
संस्थाको शेयर सदस्य रहेकी हेटौंडा-२ निवासी एकल महिला राधा कार्की, लघु उद्यमी हेटौंडा-४ निवासी मालती चौधरी र प्रहरी हवल्दार हेटौंडा-८ निवासी सीता खत्रीलाई सम्मान गरिएको व्यवस्थापक युवराज तिमल्सिनाले जानकारी दिए । संघर्षशील जीवनयापन गर्दै सस्थामा नियमित वचत गर्दै आएकी कार्की, एउटा टेलर मेशिनबाट सिलाईको काम सुरु गर्दै अहिले ७ जनालाई रोजगार दिन सफल चौधरी र प्रहरी सेवामा रही समाजमा उल्लेख्य काम गर्ने हवल्दार खत्रीलाई सम्मान गरिएको व्यवस्थापक तिमल्सिनाले बताए ।
सहकारीको महिला उपसमिति संयोजक अञ्जना उपाध्यायको अध्यक्षमा भएको तीज विशेष कार्यक्रममा सहकारीका अध्यक्ष कमल राज मैनाली , सचिव झलक प्रसाद गौतम, कोषाध्यक्ष भीमप्रसाद तिमल्सिना (पवन), सदस्य शम्भु पुडासैनी लगायतको आतिथ्यता रहेको थियो ।
सभामा वचत तथा ऋणको सावाँ ब्याज समयमै भुक्तानी गर्ने गराउने, कुनै पनि सामाजिक उत्तरदायित्वको कार्यक्रममा सकृय सहभागिता हुने, संस्थाको बृहत्तर हितको निम्ति सदैव लागि पर्ने जस्ता ५ बुँदे संकल्प प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागीहरुले उक्त बुँदाहरु कार्यान्वयन गर्न प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा महिला उपसमितिका सदस्यहरु सुजता मैनाली, शोभा रिमाल, कर्मचारी दुर्गा चौलागाईंसहित ७० भन्दा बढी शेयर सदस्यहरुको उपस्तिथि थियो ।