मकवानपुरको हेटौंडा अस्पताल पूर्ण रुपमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान मातहत आएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेसंगै प्रतिष्ठान मातहत हेटौंडा अस्पताल आएको हो ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभा सचिवालयबाट प्राप्त भई आएको सो विधेयक आज प्रमाणीकरण गर्नु भएको हो । प्रतिष्ठान र हेटौंडा अस्पताललाई बागमती प्रदेशका तत्कालिन मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारले अध्यादेश मार्फत प्रतिष्ठान र अस्पताललाई अलग गराएको थियो । फेरी पहिलेको ऐनलाई जगाउनेगरी बिधेयक प्रमाणिकरण भएपछी अस्पताल पनि पूर्ण रुपमा प्रतिष्ठान मातहत आएको हो ।

बिधेयक प्रमाणिकरण भएपछी अब यसको कार्यान्वयन समेत भएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताउनुभयो । प्रतिष्ठानका कुलपति समेत रहनु भएका जम्मकट्टेलले अब प्रदेश राजधानीको स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउनका लागि लागिपर्ने बताउनुभयो । अहिलेको अबस्थामा भने प्रतिष्ठान स्वास्थ्य मन्त्रालय अन्तरगत भन्दा पनि पहिलेकै सामाजिक बिकास मन्त्रालय मातहत गएको समेत बताउनुभयो ।

प्रदेश सरकारको गौरबको आयोजनाका रुपमा प्रतिष्ठान रहेकाले त्यही अनुसार सेवा दिनेगरी काम गरिने मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताउनुभयो । प्रतिष्ठान मातहत आएपछी यस अस्पतालमा अहिले भइरहेको बेढ भन्दा पनि धेरै बेढ थपेर सबै खालका उपचार सेवा लिनका लागि अन्यत्र जानु नपर्नेगरी काम गरिने उहाँले बताउनुभयो । अस्पतालमा आवस्यक डाक्टर, नर्ष लगायतका स्वास्थ्यकर्मी पनि थप्ने र स्वास्थ्य जाँच गराउनका लागि ल्याबमा पनि प्रबिधि थप्दै लगिने प्रसाईले बताउनुभयो । प्रतिष्ठानलाई स्वाथ्य क्षेत्रको उत्कृष्ट बनाउने अभियानमा लागेकाले प्रदेश सरकारको गौरबको आयोजनाका रुपमा काम पनि गरिने बताउनुभयो ।