नरेन्द्रजङ्ग पिटर
एकजना तन्नेरी शिक्षा–व्यापारीकोमा पुगेको थिएँ । ती मध्यम वर्गीय तन्नेरीको चिच्याहट लाग्दो निराशामा अधिकांश शिक्षित युवाको सोच झल्कन्थ्यो । नेताहरूप्रति आक्रोश, पार्टीप्रति निराशा, लालदास बनेका कार्यकर्ताको विवेक शून्यताप्रति विरक्त देखिन्थ्यो । राजनीतिप्रति घृणा देखिने निराशामा फस्दै गएको समाजमा ऊ पनि आक्रोशित थियो तर जोखिम अर्काले उठाइदिनुपर्ने उपलब्धिको पहिलो हिस्सेदार आफू हुनु पाउनुपर्ने मनोभाव झल्किन्थे । उसको आक्रोशको जवाफमा भनीँ – या त्यो लथालिङ्ग सपार्न पहल लिनुस् नत्र विद्रोहमा सामेल हुनुस् हैन भने कुण्ठाका गीत गाउँदै सपनी र शिक्षा–व्यापार गर्नुस् वा पतालिनुस् अथवा भैरव अर्याल, कवि गोरख पाण्डे वा सिल्वया पाथझैँ आत्महत्या गर्नुस् ।
हरेक युगको सपना, अपेक्षा र निष्ठा भनेकै तत् समय र समाजका युवा सोच, कल्पना, चाहना, दायित्वबोध र त्यसलाई निर्वाह र भूमिका खेल्दा आउने जटिल चुनौती सामना गर्र्दाका उपलब्धि हुन् । जिउँदा मान्छेले सामना गर्नु परेको, भोग्नु परेको जिउँदा प्रश्न भनेकै युवाका अपेक्षा र चुनौती हुन् । हरेक सम्भावनालाई उचित प्रयोग गर्न सक्यो भने सकारात्मक परिणाम निकाल्छ । उपयुक्त विधि निकाल्न नसके असफलताका कथा र निराशा सुरु हुन्छ । यात्रामा गतिले मात्र पुग्दैन दिशा खुट्याउन नसके गोलचक्करमा फसिन्छ । निजी प्रगतिका लागि अपेक्षाको पर्वत चुलिँदै जाँदा युगले युवा सामुन्ने अनेकौँ प्रश्न गर्छ । के युवा अग्रगमनको पक्षधर, यथास्थितिको रक्षक, आग्रहको सिकार ? बिग्रेको राजनीतिसँग उसको सरोकार कस्तो छ ! किनारामा बसेर तमासे बनेर वा धारे हात लगाएर युगीन दायित्वदेखि पन्छन पाउँछ ! यसका लागि भूमिका कति सिर्जनात्मक, आदर्शमय रह्यो ? गतिशील रह्यो कि रहेन, आफैँलाई केन्द्रमा राख्यो वा सार्वभौम विचार र दायित्व पछ्याउन सक्यो कि सकेन, विकसित घटनाक्रम र समस्या कसरी हेरी, बुझिरहेको छ, निकास दिन कस्तो भूमिका खेलिरहेको छ वा बेवास्ता गर्छ, कतै समस्याबाट पलायन त भएको छैन ?
अधिकांश युवा जोखिम उठाउनुभन्दा खस्कने कारणमा उपभोक्ता संस्कृतिको दास बन्नु र स्वयंमा रहेको अन्तरनिहित क्षमताको प्रयोग नगर्नु नै हो । अहिले उपभोक्तावादी बजार संस्कृतिले ग्रसित भएर चकाचौँधीय सपनामा अधिकांश युवाका अपेक्षा पिल्सिरहेका छन् । सम्भावनाको खोजीमा भौतारिँदा आफैँसँग रहेको क्षमता पहिचान गर्न र स्वाभिमानको जोखिम उठाउन उदास देखिँदै गएका छन् । आदर्श नायक को र कस्तो हुनुपर्छ भन्ने ठम्याउन नसकी भौँतारिरहेका छन् । तब प्रश्न उठ्छ, आज किन अधिकांश शिक्षित युवा सामाजिक सरोकारसँग उदासीन बन्दै राजनीतिबाट कटिरहेका छन् ? तन्नेरीका अहिले छलफल, चिन्ता, चासो र भूमिका के, के हुन् ? मान्छेको अन्तरनिहित शक्तिको आकलन आजसम्म हुन सकेको छैन । बुद्ध, सिजर, शेक्सपियर, पृथ्वीनारायण शाह, नेपोलियन, माक्र्स, म्याडम क्युरी, आइन्सटायन, लक्ष्मीप्रसाद देवकोटाजस्ता असङ्ख्य पात्र विभिन्न काल र भूगोलमा पैदा भए । आ–आफ्ना समयका क्षमतावान पात्र थिए । शारीरिक अपाङ्गताले क्षमतालाई कहाँ पो रोक्दो रहेछ र ! स्टेफन हकिंग्स नियालौँ । पारिजात हामीसँगै थिइन् । अमेरिकी सफल भनिएका राष्ट्रपति रुजवेल्टसम्मले आफ्नो क्षमताको मात्र १० प्रतिशत उपयोग गरेको भने । सामान्यजनले अन्तरनिहित ऊर्जा कति प्रयोग गर्ला ? मानवीय क्षमता र अपेक्षाको ठूलो अंश भनेको युवाकालकै हो । अवरोध चिर्दै नदीले बाटो र प्रतिभाले वातावरण स्वयंले बनाउँछन् ।
सङ्क्रमणकाल परिवर्तनको सँघार बन्छ । विगतमा भएका सशस्त्र र निशस्त्र आन्दोलनले उरालेको महìवाकाङ्क्षाको राजनीतिक व्यवस्थापन अझै हुन सकेन । यस्तो बेला अपेक्षाको पूरा निजी सक्रियतामा हुने हो कि सामूहिक उपचारको खोजीमा ! अथवा भगवान् भरोसामा, भन्ने विषय बहसमा हुनुपर्छ । गम्भीर विषयबाट तर्कन चाहन्छ भने मानसिक ऊर्जाबिनाको शारीरिक तन्नेरीलाई युवाको अर्थमा लिइँदैन । अग्रगमन, यथास्थिति र प्रतिगमन बीचमा भयङ्कर टकराहटको बेला कोही पनि सरोकारहीन बन्न र बस्न सक्दैन, पाउँदैन । निजी सक्रियतामा मात्रै उसका अपेक्षा, कामना र महìवाकाङ्क्षा पनि पूरा हुँदैनन् । समाजको सबैभन्दा जागरुक अङ्ग युवाको ठूलो पङ्क्ति अहिले निराश छ, आत्म–केन्द्रित बन्दैछ । दैनिकजसो हजारौँको सङ्ख्यामा काम, अवसरको खोजीमा पुर्पुरो ठोक्दै विदेशिँदैछ । बलिया बाङ्गा तन्नेरीको ठूलो हिस्सा विदेशिएको छ । कतै लेबर जन्माउने मुलुक त बन्दै छैन ? फोर डि (डिफिकल्ट, डेन्जर, डिभ्यालुज, डिस्ग्रेस) काम गर्न विदेशिने जनशक्तिमा देशमा भने शारीरिक श्रमबाट बच्ने र सहज रूपमा खान खोज्ने लत जागेको हुन्छ । सामाजिक सरोकारको विषय र अवस्थाप्रति कुनै सरोकार देखिँदैन वा विकासे लोकप्रिय नारामा रमाउँदैछ ।
कतिपयलाई प्रतिक्रियाले नै सक्रिय बनाएको छ । यसका लागि राजनीतिक दल, युवा सङ्गठन र युवा नेतृत्व जति होसियार र सजग हुनुपथ्र्याे, पार्टी र पार्टीभित्रको गुट वा उपगुटको फुर्को समातेर पहिचानको खोजीमा रहँदा उनीहरूले सामाजिक चेतको नेतृत्वदायी भूमिका र दायित्व पूरा गर्न सकिरहेका छैनन् । अधिकांश शिक्षित युवा विज्ञानको उपभोग त गर्छ तर निर्णयसिन्धुले निर्णय गर्नेको जमात पनि बढ्दो छ । कतिपय ‘विज्ञानपुत्र’ नै रुढिवादको सँघार छिचल्न सकिरहेका छैन । भाग्यमा भर पर्छन्, आफैँले बनाएको र बनाउनुपर्ने भाग्यको भने भर गर्दैनन् । कार्य, कारण र परिणामप्रति सूक्ष्म अध्ययन गर्नु र नयाँ सोचको पहल लिनुको बदला सहज ज्ञानप्रतिको आकर्षण बढ्दो छ । सामाजिक सरोकारबाट ऊ उदासीन र निराश बन्दा स्वाभिमान एवं आदर्शबाट पलायन भएर उपभोक्तावादको चमत्कारसँग रमाइरहेको देखिन्छ । आक्रोशित हुँदै यो भएन, ऊ भएन, यसो गरेको भए त्यसो हुन्थ्यो त भन्छ तर के गर्नुपर्छ भनेर स्वयं पहल लिनु र दिमागलाई सक्रिय गराउन झन्झट सोच्छ । उग्र राष्ट्रवादको चर्को नारा त लगाउँछ तर सबैभन्दा पहिला डिभी भर्न वा विदेशिने अभियानमा स्वयं लागिरहेको हुन्छ ।
त्यसैको परिणाम हो, सहर, उदीयमान बजारी फास्टफुड संस्कृति र औकातअनुसारको विदेश मोह । यी आदि–इत्यादि समस्यामा घोरिने, चिन्तन गर्ने र अगुवाइ गर्ने नैतिक पुँजी भएको युवा नेतृत्व विकास गर्न राजनीतिक पार्टीहरूसँग दूरदृष्टि र योजना त छ ? आसे चरित्र र शक्तिको फुर्को समात्नुको बदला आफ्नै क्षमता र युगीन दायित्वप्रति आजका युवा सचेत छन् कि छैनन् ? यथास्थितिविरुद्ध चोटिलो हस्तक्षेप र नित्य नयाँ चिन्तनले समाजको अगुवाइ कति गर्न सक्छन् ? भनेरै युवा चेत नाप्ने गरिन्छ । जसरी भविष्य भएको देशका लागि योग्य प्राविधिक, चिन्तक र नैतिक राजनीतिक नेताको आवश्यकता हुन्छ । त्यस्तै हरेक राजनीतिक पार्टी वा समूहका लागि पनि पिछलग्गु हैनन् नैतिकवान, क्षमतावान, आलोचनात्मक चेत भएका वैचारिक दृढ तर गतिशील र परिपक्क सक्रिय युवा कार्यकर्ताको आवश्यकता हुन्छ । अझ नेताहरूको पहिचान उनीहरूलाई समर्थन गर्ने र विचारलाई कार्यान्वयन तहमा पु¥याउने कार्यकर्ताको नैतिक बलसँग जोडिएको हुन्छ । नैतिक धरातल र सैद्धान्तिक कुरा अहिले अधिकांश युवामा काउसोजस्तो हुँदैछ । संवेदनशील र शिक्षित युवाको ठूलो सङ्ख्या आन्दोलन र राजनीतिबाट टाढिएका छन् । जहाँ युवा निराश र आग्रहले हाँकिन्छन् त्यहाँ विग्रहकारी तìवले आदर्शका उत्तेजना छेड्दै आफ्ना ‘मिसन’ पूरा गरिरहेको हुन्छ । समयका चाप, अग्रगामी एवं निर्णायक भूमिकाको व्यग्र पर्खाइ, सोच र भूमिकाको घनिभूत टकराहटको अवस्था बुझ्न र दायित्व निभाउन कुनै आवश्यकता महसुस नगर्ने युवा प्रतिक्रियावादीसँगै रमाउँदै उत्तेजनामा
हाँकिन पुग्छ ।
जागरुक चेत र कार्य, कारण र परिणामलाई आग्रहहीन दृष्टिले हेरेर प्रगतिवादी भूमिकामा उत्रनु युवा हुनु हो । त्यसका लागि सहमतिमा हिम्मत र विमतिमा विवेक पु¥याउनुपर्छ । युवा आर्थिक वर्ग होइन उमेरजन्य समूह भएकाले नित्य नयाँ बन्ने सोचबाट सक्रिय भइरहन्छ छ । शङ्का गर्नु तर शङ्कावादमा नफस्नु युवाचेत हो । आत्मिक ऊर्जा मर्नु, चेतना मर्नु र शारीरिक तन्नेरी हुनु मात्र युवापना मान्नै सकिँदैन । हरेक युवामा या त अरूभन्दा भिन्नै, मौलिक या त अरूभन्दा उम्दा वा महान् बन्ने अपेक्षा हुन्छ । जागृत महìवाकाङ्क्षा पहिचान हो । त्यसलाई पूरा गर्ने सपना, जोस, लगन, प्रतिबद्धता र त्यसको प्रतिकूलतामा आइपर्ने समस्या र अवरोधको प्रतिकारमा उठाउन सक्ने जोखिम, आदर्शको स्वैर कल्पना र तितो यथार्थभित्रको अन्तरविरोधमा नायकत्वको खोजी गर्दै चक्रब्यूह तोड्ने जमर्को हरेक कालका युवासँग हुन्छ ।
निजी विषयमा मात्र केन्द्रित नहुने भएकाले मानवता उसको अन्तरचालित मौलिक आदर्शीय ऊर्जा हो । जर, जोरु र जमिनप्रतिको आशक्तता त होला कसैको पनि जीवन लक्ष्यमा चोर डाँका, भ्रष्ट, व्यभिचारी र नशाखोर बन्ने भने हुँदैन तर पनि हरेक समाजमा ती भूमिकामा केही युवा देखिन्छन् नै । त्यसका लागि आर्थिक उत्पादनका साधन, स्रोत, स्वामित्व र त्यसद्वारा सिर्जित सामाजिक मनोदशा एवं संस्कृति कारक बन्छन् । आफ्नै क्षमताको पहिचान सदा गतिशील बनाउन आफैँलाई अर्जापिरहने, हर्दम नयाँ बन्न र हुन, नयाँ गर्न जोखिम उठाउन तयार भइरहनु युवाचिन्तन हो । अन्तरनिहित इच्छाशक्तिको जागृत चेत नै अपेक्षाको किटान र महìवाकाङ्क्षा पूरा गर्ने उपाय हुन् । दुनियाँलाई सपना देखाउने कर्कसा वर्तमानको प्रतिकारको हुँकार दिने अनेकौँ युवा छन् जसले त्रूmरशक्ति, आक्रमणकारी उपभोक्तावाद,‘प्रगतिशील‘ रुढिवादविरुद्ध जेहाद छोड्दा उठाएका जोखिम, खाएका हन्डर, झेलिरहेका यातना नै घनघोर अन्धकारमा पनि ज्योतिपुन्ज बन्छ । अपेक्षा र महìवाकाङ्क्षाको अगस्ती भोक नै मानव अन्तरनिहित चालकशक्ति हो । जहिले पनि सामाजिक या राजनीतिक सरोकारमा या त नेतृत्व गर या त पछ्याउ नत्र त्यहाँबाट खस्क भन्ने हुन्छ । नेतृत्व गर्नु र पछ्याउनु भनेको जोखिमसँग खेल्नु, विवेकलाई हिम्मतसाथ प्रयोग गर्नु हो । पुरानालाई त्याग्ने, नयाँ पाउने चाहनाले पाउने क्रममा भोग्ने कष्ट, तिर्नुपर्ने मूल्य, उठाउने जोखिम र सँघार छिचोल्ने आँट नै युवा पहिचान हो ।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्