चौरी पालनको राम्रो सम्भावना भएको उत्तरी नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीको श्रोत केन्द्र नयाँ चौरी थपेर बिस्तार हुनेभएको छ । चौरीको व्यावसायीक पालन सुरु गर्न लगातार तीन वर्षदेखि कार्यक्रम बिस्तार हुँदैआएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु बिकास कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाकाअनुसार चौरीपालन व्यवसाय लोप हुँनैलागेको बेला सरकारी तबरबाट श्रोत केन्द्र स्थापना गरेर बिस्तार गर्ने कार्य अगाडि बढिरहेको बताउनुभयो । उहाँले यसका लागि चालु आर्थिक वर्षमा पचास लाख रुपियाँ बजेटको व्यवस्था भएको जानकारी दिनुभयो । त्यसबाट सत्तरीवटा नयाँ चौरी थप्ने कार्य हुने बताउनुभयो ।

यसका लागि कार्यक्रमका अख्तियारी आइसकेको र श्रोत केन्द्रको व्यवस्थापन समिति जिल्लामा आई पुगेलगत्तै सम्झौता गरेर काम अगाडि बढ्नेछ । हालको श्रोत केन्द्रलाई अझै बिस्तृत गर्न थप चौरी थप्न लागिएको उहाँले बताउनुभयो । लिमीको तुम्लिङमा श्रोत केन्द्र स्थापना गरेर चौरी पालन हुँदैआएको छ । यसअघि सत्तरी वटा चौरी श्रोत केन्द्रका कार्यक्रमकबाट व्यवस्था गरिएको र त्यसबाट दुई वर्षमा १३० वटा चौरीको संख्या पुगेको थियो ।

पहिले दुई हजारभन्दा बढी चौरी हुने लिमीका तीन गाउँमा स्थानीयले पालन छोड्दै आएकाकारण संख्या एक सयमा झरेको थियो । यसलाई संरक्षण र बिस्तार गर्न कर्णाली प्रदेश सरकारले कार्यक्रम अगाडि बढाएको छ । यसका लागि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिशेष चासो राख्दै आउनुभएको छ । श्रोत केन्द्रबाट हाल दुग्धजन्य बस्तु उत्पादन गरेर बिक्री सुरु भइसकेको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो