नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र आफूले देशका लागि संघर्ष गर्दा डरलाग्दो धम्की झेलेको बताउनुभएको छ। शनिबार नुवाकोटको विदुरमा आयोजित स्वर्गीय नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो।
राष्ट्रिय स्वाधिनताको पक्षमा कसैको दबाब र धम्कीसँग नझुकी संविधान निर्माण गर्दा आफूले डरलाग्दो दबाब र धम्की झेलेको उहाँको भनाइ छ। ‘राष्ट्रिय स्वाधिनताको पक्षमा कसैको दबाब र धम्कीसँग नझुकी संविधान बनाएका थियौँ। सबैभन्दा ठूलो दबाब विदेशबाट माओवादी केन्द्र र अध्यक्ष प्रचण्डले झेलेको छ’, प्रचण्डले भन्नुभयो, ‘इतिहासमा ठरलाग्दो दबाब र धम्की झेलेको हो। दबाब र धम्कीबाट झुकिदैन भनेर संविधान जारी भएको हो।’
अहिलेसमेत अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्दा त्यही अवस्था आएको उहाँको भनाइ छ। एमसीसी पारित गर्दा केही समस्या देखिए पनि अहिले समाधान भइसकेको उहाँले प्रष्ट पार्नुभयो।
एमसीसी पारित हुँदा देश र पार्टीभित्र के होला भन्ने चिन्ता देखिए पनि त्यो समाधान भएको उहाँको भनाइ छ। ‘राष्ट्र नै विभाजित हुनेजस्तो परिस्थितिमा फेरि एकचोटी माओवादी केन्द्र नै अगाडि बढेर संसदको १२ बुँदे घोषणामार्फत् देश र राजनीतिलाई एकतावद्ध गरेको छ’, प्रचण्डले भन्नुभयो, ‘यसले स्वयम् हाम्रो पार्टीभित्र के होला भन्ने चिन्ता बढ्यो। तर, विधिसंगत ढंगले पार्टीलाई एकतावद्ध गरेर लाने र एमसीसीलगायत विषयमा छलफल गरेर अगाडि बढ्ने निष्कर्ष निकालेका छौँ’ प्रचण्डले माओवादीले गरेको योगदानलाई जनताले अब न्याय गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ।
कार्यक्रममा प्रचण्डले नेता बोगटीको राजनीतिक निष्ठा र चरित्रका बारेमा लामो चर्चा गर्नुभएको छ। बोगटीको जीवनबाट सबैले राजनीतिक प्रेरणा पाएको उहाँको भनाइ छ। बोगटी निर्भिक नेता भएको भन्दै प्रचण्डले प्रशंसा गर्नुभएको हो।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो






















प्रतिक्रिया दिनुहोस्