नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । सेनाले ६ स्वर्ण, दुई रजत र ६ कांस्य पदक जित्दै टिम च्यामिपयन बनेको हो । तीन स्वर्ण, पाँच रजत र आठ कांस्य जितेको एपीएफ क्लब दोस्रो भयो । तेस्रो भएको बागमती प्रदेशले तीन स्वर्ण, पाँच रजत र तीन कांस्य जित्यो ।

बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ संघको आयोजनामा सञ्चालित प्रतियोगिताको महिला फ्वाईलतर्फ एपीएफकी मन्दिरा थापाले स्वर्ण जित्नुभयो । थापाले फाइनलमा चिरप्रतिद्वन्द्वी सेनाकी रमा सिंहलाई १५–१२ को झिनो अन्तरले हराउनुभयो । सेनाकी मनिषा राई र बागमतीकी अञ्जु तामाङ तेस्रो हुनुभयो ।

पुरुषको टिम फ्वाईलतर्फ सेना पहिलो भयो । फाइनलमा सेनाले बागमतीलाई ४५–२९ ले हरायो । गण्डकी र एपीएफले कांस्य जित्यो । महिला टिम सावरमा पनि सेनाले स्वर्ण हात जित्यो । फाइनलमा सेनाले एपीएफ क्लबलाई ४५–३६ ले हरायो । बागमती र गण्डकी तेस्रो भयो । महिला टिम फ्वाईल तर्फ एपिएफले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण जित्यो ।

पुरुष इपी टिमतर्फको फाइनलमा सेनाले एपीएफलाई ४५–४० अंकले हरायो । पुरुष सावरतर्फ एपीएफले स्वर्ण र बागमतीले रजत पायो । विजेतालाई पूर्वउपप्रधानमन्त्री एवं गणेशमान फाउण्डेशनका अध्यक्ष प्रकाश मान सिंह, महिला नेतृ श्रृजना सिंह, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला लगायतले पुरस्कार प्रदान गर्नुभयो । तीनदिने प्रतियोगितामा ६ टिमका एक सय १४ खेलाडीले १२ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो