हामीले गर्ने सबै क्रियाकलापको सञ्चारीय सार्थकता हुन्छ । हामीले नचाहे पनि वा थाहै नपाए पनि हाम्रा क्रियाकलाप वा गतिविधिबाट अरू व्यक्तिले कुनै न कुनै अर्थ निकालेर बुझिरहेका हुन्छन् । त्यसैले सबै मानव क्रियाकलाप सञ्चार हुन् भनिएको हो । सञ्चार गर्ने उद्देश्यले नै कुनै क्रियाकलाप गरिन्छ भने त्यसलाई प्राथमिक सञ्चार क्रियाकलाप भनिन्छ । कसैलाई बोलाउनु, दुई व्यक्तिबीच वार्तालाप हुनु, गीत गाउनु आदि प्राथमिक सञ्चार क्रियाकलापका उदाहरण हुन् । मुख्यतः अर्कै उद्देश्यले गरिएको क्रियाकलापको सञ्चारीय सार्थकता पनि हुन्छ भने त्यसलाई द्वितीयक सञ्चार क्रियाकलाप भनिन्छ । खाना खानुको प्राथमिक उद्देश्य भोक मेटाउनु एवं शरीरका लागि पोषण प्राप्त गर्नु हो तर व्यक्तिले कस्तो खाना कहाँ र कसरी खाएको छ भन्ने परिप्रेक्ष्यले पनि सन्देश सम्प्रेषण
भइरहेको हुन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘श्रीगणेशाय नमः’ निबन्धमा लेखेका छन् ः “वर्णन होस्, वृत्तान्त होस् वा व्याख्यान, जतासुकै पनि म आफ्नो रंगमा आफ्नो ढंगले यो जीवनको घामछायाका अनुभवहरू चित्रण गर्दै सजीव मानव बोलचालमा पाठकसँग कुरा गर्दछु । आफ्नो सुख–दुःख, प्राप्ति–हानी, हार—विजय, आँसुहाँसो, भावभावना, आदर्श सपना, दृश्य–दर्शन झिल्का–झिल्कीहरूका साथ मनोरञ्जन र आत्मप्रकाशन गर्न अग्रसर हुन्छ ।” बृहत् अर्थ गर्ने हो भने महाकवि देवकोटाले आफ्ना सन्दर्भमा भनेका यी कुरा सबै मानिसका लागि लागू हुन्छन् । प्रत्येक मानिस आफ्नो अनुभूति, विचार, जीवनभोगाइ आदिलाई अरू मानिससमक्ष अभिव्यक्त गर्न चाहन्छ, अर्थात् “आत्मप्रकाशन गर्न अग्रसर” हुन्छ । प्रत्येक मानिस अन्य मानिससँग सम्पर्क गर्न, परस्पर सम्बन्ध राख्न एवं सँगै रमाउन चाहन्छ । अनि मन नपरेका मानिससँग सम्पर्क र सम्बन्धविच्छेद गर्नु पनि मानव स्वभाव नै हो । सुख बाँड्न पनि ऊ अरूको साथ चाहन्छ र दुःख बाँड्न पनि । यस्तै क्रियाकलापले नै मानिस सामाजिक प्राणी भएको हो । मानव समाजको उद्भव तथा विकास यस्तै सम्पर्क एवं सम्बन्धको जगमा उभिएको छ ।

मानवले कसरी आफ्ना अनुभूति, विचार, जीवनभोगाइ आदिलाई अन्य मानवसमक्ष अभिव्यञ्जन वा “आत्मप्रकाशन” गर्छ, कसरी अन्य मानवले अभिव्यञ्जन गरेका सन्देश प्राप्ति एवं बोध हुन्छ । यसरी सन्देशको आदान–प्रदानमार्फत मानवले कसरी परस्पर सम्बन्ध विकास गर्छ र उक्त सन्देश आदानप्रदान प्रक्रियामा कुन कुन तìव कसरी कसरी संलग्न रहेका हुन्छन् आदिजस्ता पक्षहरूको अध्ययन सञ्चारशास्त्रमा गरिन्छ । सञ्चार व्यवहारकै जगमा मानव समाजका सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिकलगायतका सबै संरचना प्रतिष्ठित रहेकोले यसको अध्ययन गर्नु अत्यावश्यक भएको र सञ्चारशास्त्रले महŒव पाएको हो । वास्तवमा सञ्चार सबै जनाले ध्यान दिनुपर्ने कुरा हो । हाम्रो जिन्दगीको सबै व्यवहार, हाम्रो खुसी वा दुःख, हाम्रो सफलता र असफलता सबै कुरा सञ्चारसँग जोडिएको छ । सञ्चारबिना हाम्रो व्यवहार नै चल्दैन । सञ्चार मानव जीवनको अनिवार्य प्रक्रिया हो । सञ्चार गर्न जानिएन भने सबै क्षेत्रमा पछि परिन्छ । प्रभावकारी सञ्चार क्षमता हामी सबैलाई आवश्यक छ ।
सञ्चार प्रक्रियामा सूचना लिने मात्र वा दिने मात्र गरिँदैन । यो क्रममा सन्देशको साझेदारी भइरहेको हुन्छ । सूचनाको आदानप्रदान र भौतिक वस्तुको आदानप्रदान उस्तै होइन । यसरी सूचना वा सन्देश र त्यसले जनाउने भावनाको साझेदारी हुनु सञ्चार प्रक्रियाको विशेषता हो । वास्तवमा सञ्चारको उद्देश्य नै सूचना वा सन्देशको साझेदारी हो ।

सञ्चार गर्दा प्रयोग हुने प्रविधि वा साधनलाई माध्यम (मिडिया) भनिन्छ । आमुन्ने सामुन्ने बसेर कुराकानी गर्नु पनि सञ्चार हो र टाढा रहेका मानिसहरूसँग कुनै प्रविधि वा साधन प्रयोग गरेर कुराकानी गर्नु पनि सञ्चार हो । आमुन्ने सामुन्ने हुँदा त एकज नाले बोलेको अर्कोले सुनिन्छ र एक अर्कालाई देखिन्छ । यस्तो अवस्थामा प्रत्यक्ष सञ्चार सम्भव हुन्छ तर सञ्चार गर्नुपर्ने व्यक्तिहरू टाढा छन् भने प्रत्यक्ष सञ्चार सम्भव हुँदैन । त्यस्तो अवस्थामा माध्यमको सहायता लिनुपर्छ । जस्तै ः अहिले हामी मोबाइल फोनमा एप्लिकेसनमार्फत भिडियो कल गर्दैछौँ । पुस्तक, पत्रिका, अखबार, रेडियो, टेलिभिजन र अनलाइन सबै सञ्चारमाध्यम हुन् । प्रविधिको विकाससँगै मोबाइल फोन (सेल फोन) एउटै यन्त्र (डिभाइस) बाट समाचार पढ्ने, भिडियो हेर्ने, मेसेजिङ वा भिडियो कल सुविधा प्रयोग गर्ने सबै गर्न सकिन्छ । गेमिङ, अनलाइन शब्दकोश आदि पनि मोबाइल फोनमै हुन्छ । प्रभावकारी सञ्चार गर्नका लागि मिडियाको सही प्रयोग गर्न जान्नु आवश्यक हुन्छ ।

सञ्चार खासमा दुई तरिकाले गर्न सकिन्छ । एउटा हो– शब्दको प्रयोग गरेर हुने सञ्चार । अर्को हो– शब्दको प्रयोग नगरी इशारा वा हाउभाउजस्ता तरिकाले गरिने सञ्चार । शाब्दिक सञ्चार शब्दको प्रयोग गरी हुने सञ्चार हो । यस किसिमको सञ्चारमा हामी भाषाको प्रयोग गरेर कुराकानी गर्छौं । मानव सञ्चारमा सूचनाको आदानप्रदानमा बोली सबैभन्दा प्रभावकारी साधन हो । शब्दका दुई रूप हुन्छन्– भाषात्मक बोलाइ (कथ्य) र लेखात्मक (लेख्य) । बोलेर पनि सन्देशको आदानप्रदान गर्न सकिन्छ र लेखेर पनि गर्न सकिन्छ । अर्को, इशारा वा हाउभाउजस्ता तरिकाले पनि सञ्चार हुन्छ । कैयौँ कुरा हामी टाउको हल्लाएरै बुझाउँछौँ र बुझ्छौँ । हेराइको तरिकाबाट पनि कति कुरा थाहा हुन्छ ।

प्रभावकारी सञ्चार कसरी गर्ने भन्नेबारे प्रशस्त अनुसन्धान भएका छन् । सञ्चारविद्हरूको सुझाव छ– बोलीचाली शिष्ट एवं नम्र हुनुपर्छ । शब्दहरूको स्पष्ट उच्चारण आवश्यक हुन्छ । बोल्दा धेरै छिटो छिटो बोलेको पनि राम्रो सुनिँदैन । धेरै ढिलो ढिलो बोलेको पनि उपयुक्त हुँदैन । धेरै चर्को वा अति मधुरो बोलेको पनि उपयुक्त हुँदैन । झगडालु बोलीचाली कसैलाई मन पर्दैन । गालीगलौज गर्नुहुँदैन । अमर्यादित शब्दको प्रयोग गर्नुहुँदैन । अरूको भावनामा ठेस पुग्ने गरी कुरा गर्नुहुँदैन । कसैको आत्मसम्मानमा चोट पुग्ने गरी गिज्याउने, होच्याउने, उडाउने गरी बोल्नुहुँदैन । कोहीसँग भेट हुँदा उपयुक्त अभिवादन गर्नुपर्छ । जस्तै ः उमेरमा ठूलालाई कसरी अभिवादन गर्ने र सानालाई कसरी अभिवादन गर्ने भन्ने जानेर व्यवहार गर्नुपर्छ । सबैलाई सम्मानपूर्वक सम्बोधन गर्नुपर्छ । आफू मात्र एकोहोरो बोलिरहने गर्नुहुँदैन । सुन्ने क्षमता झन् महŒवपूर्ण मानिन्छ । कुराकानी चलिरहेको बेलामा वक्ता (बोल्ने मानिस) लाई बेवास्ता गरी ग्याजेट चलाएर बस्नुहुँदैन । अर्को व्यक्ति बोलिरहँदा प्याच्च बोलेर प्रसङ्ग बिथोल्नु हुँदैन । बोल्ने र सुन्ने दुवैले एक अर्काको कुरा बुझ्ने गरी संवाद गर्नुपर्छ । केही नबुझिए सोध्नुपर्छ । अर्को व्यक्तिले केही गलत कुरा भनेका छन् भने विनम्रतापूर्वक सच्याउन सकिन्छ ।

कुनै विषयमा वादविवाद भयो भने तथ्य र तर्कसहित आफ्ना कुरा राख्नुपर्छ । ढिपी गर्नुहुँदैन । आक्रामक प्रस्तुति हुनुहुँदैन । केही गल्ती बोलिएको रहेछ भने सुधार गर्न हिच्किचाउनु हुँदैन । आवश्यकताअनुसार क्षमाप्रार्थी बन्न पनि हिच्किचाउनु हुँदैन । आफूलाई लागेका कुरा मर्यादित तरिकाले अभिव्यक्त गर्नुपर्छ तर विचार र अभिव्यक्तिको स्वतन्त्रताको दुरुपयोग गर्नुहुँदैन । असत्य, अप्रमाणित तथा झुट्टा कुराहरू भन्नु हुँदैन । नस्लवादी (रेसिस्ट्) टिप्पणी गर्नुहुँदैन । रङ्ग, लिङ्ग, उमेर, कद आदिका आधारमा भेदभाव गरी बोल्नुहुँदैन । पेसा, पद, ठाउँ आदिको आधारमा पनि भेदभाव गर्नुहुँदैन । धर्म, संस्कार, संस्कृति, भाषा, उच्चारण (एक्सेन्ट्) आदिको आधारमा पनि भेदभाव गर्नुहुँदैन ।

समय परिस्थिति अनुसारको हाउभाउ हुनुपर्छ । जस्तै ः रमाइलो वा सामान्य बेलामा हँसिलो अनुहार सबैलाई मन पर्छ तर शोकको बेलामा अनुहार हँसिलो देखियो भने त्यो गलत देखिन्छ । त्यस्तो बेलामा अनुहारमा गम्भीरता झल्किनुपर्छ । बोल्दा शिर, हात, गोडा वा शरीरका अन्य अङ्गको चाल कस्तो छ भनेर पनि हेरिन्छ । इशारा गर्दा समाजमा शिष्ट नमानिने वा अमर्यादित इशारा गर्नुहुँदैन । मर्यादित मानिने इशारा मात्र गर्नुपर्छ । मिडियाको प्रयोग गर्दा सुरक्षित तरिकाले गर्नुपर्छ । सोसल नेटवर्किङका पासवर्ड अरूलाई दिनुहुँदैन । सोसल नेटवर्कमा असत्य, अप्रमाणित तथा झुट्टा कुराहरू फैलाउनु हुँदैन । यस्ता गलत कार्य गरेमा कानुनी रूपले सजाय पनि हुन्छ । साइबर बुलिङ तथा ट्रोल गर्नेजस्ता क्रियाकलापमा लाग्नुहुँदैन । च्याटरुममा गरेको कुराकानी पनि आमुन्ने सामुन्ने कुराकानी गर्दाको जस्तै मर्यादित हुनुपर्छ ।

सोसल मिडिया र नेटवर्किङ साइटमा गरिने क्रियाकलाप वा गतिविधिलाई अरूले हेरिरहेका हुन्छन् । त्यहाँ लेख्दा, तस्बिर तथा भिडियो अपलोड गर्दा जहिले पनि उपयुक्त सामग्री मात्र हुनुपर्छ । अरूका पोस्टलाई लाइक, सेयर तथा ट्विट, रिट्विट गर्दा पनि निकै विचार गरेर मात्र गर्नुपर्छ । हामी कस्ता सामग्री त्यहाँ राख्छाँै, त्यसबाट हाम्रो व्यक्तित्व राम्रो वा नराम्रो भन्ने छाप परिरहेको हुन्छ । अहिले रमाइलो भन्ठानेर वा नजानेर गरेको क्रियाकलापले भविष्यमा ठूलो असर पर्न सक्छ । त्यसैले फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक आदिमा पनि मर्यादित र प्रभावकारी सञ्चार नै गर्नुपर्छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो