काठमाडौं, मङ्सिर २१ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताउनुभएको छ ।

खुमलटारमा मंगलबार आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उहाँले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘त्यसकारण अहिले यो पटक देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौँ । हाम्रो ध्यान अब समाजवादी क्रान्तिको कसरी विकास गर्ने भन्नेमा छ ।’

उहाँले मधेसकै पहिचान र अधिकारका निम्ति आफूहरुले लडाइँ लडेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बीचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेसमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेसका विभिन्न जिल्लाका कार्यक्रममा जाँदा मैले जनतामा माओवादीप्रति उत्साह देखेको छु ।’

मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरुलाई अगाडि बढाउने हो भने माओवादी केन्द्रबाहेक अरू कसैको पनि विचार त्यहाँका जनताको पक्षमा नभएको उहाँको दाबी थियो ।

समाचार गोरखा पत्रमा छ ।