‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय लिन बाध्य भएको छु। ३१ वर्ष राप्रपामा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कोही साथीहरूसँग मेरो वैरभाव छैन। सबैको भलो होस् भन्ने कामना गर्दछु।’
राप्रपाका पूर्वअध्यक्ष कमल थापाबाट माथिको अभिव्यक्तिसहितको प्रेस नोटमार्फत हालैमात्र पार्टी परित्याग गरेको सार्वजनिक अभिव्यक्ति आयो। साथै नयाँ पार्टी खोल्ने उद्घोष पनि भयो। उनले कतिखेर पार्टी छाड्ने सोच बनाए भने जति बेला आफू पार्टीको अधिवेशनबाट पराजित भए। जब नयाँ अध्यक्षमा आफूभन्दा युवा राजेन्द्र लिङदेन चुनिए अनि आफू अर्को अध्यक्षको मुनि बसेर काम गर्न नसक्ने ठाने। अनि उनी पार्टी परित्याग गर्ने निष्कर्षमा पुगे। पार्टी परित्यागको घोषणा अनपेक्षित थिएन। अधिवेशनमा पराजयको नतिजा व्यहोरेपछि सामाजिक सञ्जालमा उनले राखेका विचारले उनको कदम केही हुन्छ भन्ने आंकलन थियो। यता नयाँ पार्टीमा पनि उनी अन्य पदमा बसेनन्, अध्यक्षको पदमै आसीन भए। यसले पनि पुष्टि गर्छ कि उनी अन्यलाई नेता मान्न तयार छैनन् वा नेता तयार पार्न इच्छुक पनि छैनन्।
शीर्ष नेता बन्ने राजनीतिकर्मीहरूको यो सिलसिला कमल थापाबाट मात्र सुरु भएको भने होइन। यसअघिका राजनीतिकर्मीहरूले पनि यस्तै लय समाएको देखिन्छ। जब आफू नेकपा माओवादीमा अध्यक्ष बन्ने सम्भावना देखेनन् तब पूर्वप्रधानमन्त्री समेत रहेका डा.बाबुराम भटृराईले नयाँ शक्ति पार्टी गठन गरेर आफू अध्यक्ष बने। निर्वाचनमा जनमत हासिल नगरेपछि उनी त्यो नयाँ शक्तिमा टिक्न सकेनन्। यसैगरी पूर्वप्रधानमन्त्री भइसकेका नेकपा एमालेका नेता माधव नेपाल पनि पार्टी फुटाएर भए पनि आफू अध्यक्ष बनेरै छाडे। सहकर्मीहरूले छाड्दै गए पनि र पार्टी चोइटिँदै गए पनि पूर्वप्रधानमन्त्री भइसकेका पुष्पकमल दाहाल ३० वर्षदेखि पार्टीको नेतृत्वमै छन्।
पहिले महासचिव अहिले अध्यक्षका रूपमा। मोहनविक्रम सिंह, सिपी मैनालीलगायतका पनि त्यही लयमा लामो समयदेखि छन्। राजनीतिकर्मीहरूका यी दृष्टान्तले के सिद्ध गर्छ भने पार्टीमा एकपटक अध्यक्ष बनिसकेपछि सदा आफूमात्रै अध्यक्ष पदमा रहिरहनुपर्ने आमप्रवृत्ति झल्काउँछ। नेपालका राजनीतिकर्मीहरू कसैको मुनि बसेर नेता बनी देश र जनताका लागि काम गर्न तयार छैनन् वा चाहँदैनन् भन्ने नकारात्मक सन्देश यसले दिएको छ। यसले राजनीतिमा नयाँ नेता आउने ढोकालाई बन्द गरिदिएको देखिन्छ। फलतः राजनीतिक नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन सकिरहेको छैन।
वास्तवमा नेपाली राजनीतिमा नयाँ नेतृत्वको विकास हुन नसक्नुको प्रमुख कारण नै पुराना नेतृत्वले स्थान छोड्न नचाहनु हो। नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुन नसक्नु भनेको नयाँ विचार, नयाँ चिन्तन र नयाँ मन्थनको विकास हुन नदिनु पनि हो। पुरानाले नयाँलाई स्थान नदिएका कारण नयाँ सोच आउनै सकेन। संसारका अन्य मुलुकलाई हेर्ने हो भने अहिले ३४ वर्ष, ४० वर्ष उमेरका राजनीतिककर्मी राष्ट्रपति, प्रधानमन्त्री हुने गरेका छन्। तर नेपालमा भने मुलुक असफल राष्ट्र नै हुने अवस्थामा पुगिसक्दा पनि पुराना नेताहरू स्थान छाड्न तयार छैनन्।
पुराना नेताहरूलाई नेतृत्वको जिम्मेवारीबाट आराम दिलाउन ७० वर्षपछि अवकाश लिनुपर्ने उमेर हदको व्यवस्था पनि नगरेको होइन। तर पुरानो नेतृत्व त्यो स्वीकार्न पनि तयार देखिएन। राजनीतिकर्मीहरूको यही गलत प्रवृत्तिका कारण २०४६ सालको आन्दोलनपश्चात आएको राजनीतिक परिर्वतन पनि केही समयपछि नै भुत्ते साबित भयो। त्यसपछि २०६२/६३ मा अर्को परिवर्तन आयो, त्यसले पनि मुलुक परिवर्तन हुन सकेन। कारण, राजनीतिक व्यवस्था परिवर्तन भए पनि त्यो व्यवस्था सञ्चालन गर्ने व्यक्तिहरू परिवर्तन भएनन्। सत्तामा पुराना अनुहारकै रजगज चलि नै रह्यो। साँच्चै मुलुकलाई परिवर्तन गर्ने हो भने यस्तोखालको प्रवृत्तिलाई हटाउनु जरुरी छ। पुराना नेताहरूले नयाँ व्यवस्था हाँक्न सक्दैनन्, पदीय भागबन्डामै नै रुमलिरहन्छन् भन्ने देखाइदिएको छ।
छिमेकी मुलुक भारतकै उदारहण लिउँ, त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीलाई पार्टीले पटकपटक अध्यक्ष बन्न आग्रह गर्दा पनि उनी अध्यक्ष बन्न तयार भएनन्। अरूलाई नै अध्यक्ष बनाए। प्रधानमन्त्री रहुन्जेल पार्टीको अध्यक्ष नबन्ने धारणा उनले सार्वजनिक गरे। तर नेपालमा पार्टी अध्यक्ष हुनेबित्तिकै प्रधानमन्त्री पनि आफैँ बन्ने हठ प्रायः राजनीतिकर्मीमा देखिन्छ। नरेन्द्र मोदीको अर्काको देशमा हस्तक्षेप गर्ने, हिन्दु अतिवाद लाद्ने जस्ता कामको होइन कि उनले आफू प्रधानमन्त्री हुन्जेल पार्टी अरूले हाँकुन् भनेर जुन प्रण गरे त्यसको सिको नेपाली नेताहरूले गर्दा राम्रै हुने थियो। त्यस्तै अमेरिकामा पनि राष्ट्रपति भइसकेका नेताहरू कहिल्यै पनि पार्टी अध्यक्ष हुन आएनन्।
राष्ट्रपति भए पनि पार्टीभित्र भने उनीहरू सामान्य कार्यकर्ता नै हुन्छन्। दुई अवधि राष्ट्रपति भएर फर्कनेबित्तिकै उनीहरू पुनः कार्यकर्ता नै हुने वा पूर्ववत पेसामा फर्कने गर्दछन्। तर नेपालमा भने पाँच छ पटकसम्म पनि प्रधानमन्त्री हुने लालच देखिन्छ। पार्टीमा पनि अरूले पराजित नगरुन्जेल अध्यक्ष नै भइरहनुपर्ने लोभी प्रवृत्ति छ।
यसले के दर्शाउँछ भने नेपालमा राजनीतिकर्मीहरू ठूलो संख्यामा छन् तर राजनेताको कुरै छाडौँ नेता बन्ने हैसियत पनि गुमाउँदैछन्। एक जना राजनीतिकर्मीको सोच अर्को चुनावसम्म मात्र जान्छ तर एक नेताको ध्यान अर्को पुस्तासम्म गइरहेको हुन्छ। नेपालमा गणेशमान सिंह एक नेताको रूपमा स्थापित हुन सफल भए भने मदन भण्डारी नेता हो वा राजनीतिकर्मी मात्र हो छुट्याउन नपाउँदै अल्पकालमै बितेर गए। बाँकी त जम्मै औसत राजनीतिकर्मी मात्रै हुन् जसका कारण मुलुक यो दुर्दशामा पुगेको छ।
आफू मात्र नेतृत्वमा रहिरहने मानसिकताकै उपजस्वरूप देशमा नयाँ विचार अगाडि आउन सकेन भन्ने कुरा उनीहरूले कहिले बुझ्ने? नयाँ नेतृत्व तयार हुन सकेन, पुरानो नेतृत्वले देश चलाउन सकेन। जसका कारण नेपालमा ठूलाठूला राजनीतिक परिवर्तन भए पनि मुलुक परिवर्तन हुन सकेन। भारतमा सन् १९४७ मा ठूलो राजनीतिक परिवर्तन भयो, त्यहाँ ब्रिटिस शासकलाई हटाएर भारतीयहरूले शासन गरे। अर्थात सत्तामा पूरै नयाँ नेतृत्व आए। त्यो सफल भयो। चीनमा पुरानो सामन्ती शासकलाई हटाएर माओ त्से तुङको नेतृत्वमा पूरै नयाँ वर्ग शासनमा आए। त्यो पनि पूरै सफल भयो।
रुसमा जार राजाहरूको शासन थियो, क्रान्तिले सबै जारहरूलाई हटाएर कम्युनिस्टहरूको पूरै नयाँ वर्गले शासन गर्यो। फलतः त्यो पनि सफल भयो। तर नेपालमा त्यस्तो भएन। विसं २००७ सालमा राणा शासनविरुद्ध क्रान्ति भयो। क्रान्तिपछि राणा शासककै नेतृत्वमा नयाँ व्यवस्था सञ्चालन भयो। त्यो धेरै वर्ष टिकेन। २०४६ सालमा अर्को आन्दोलन भयो र अर्को व्यवस्था आयो। तर त्यो व्यवस्थामा क्रमशः पञ्च नेताहरू नै हावी हुँदै गएपछि त्यो पनि सफल भएन।
त्यसपछि २०६२/६३ मा सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनमार्फत नयाँ व्यवस्था लागु भयो। तर त्यसलाई हाँक्ने जिम्मा गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधव नेपाल, केपी ओली, झलनाथ खनाल, शेरबहादुर देउवा, सुशील कोइराला जस्ता पुरानै राजनीतिकर्मीको काँधमा आएपछि त्यो पनि क्रमशः असफल सावित हुँदै आयो।
नयाँ व्यवस्थालाई नयाँ सोच, नयाँ जाँगर र नयाँ दृष्टिकोणका साथ हाँक्न सकेको भए त्यो सफल हुने थियो। नयाँ व्यवस्थामा पनि पुरानै नेता, पुरानै चिन्तन र पुरानै प्रवृत्तिको पकडमा पुगेपछि त्यो सफल हुन सकेन। यो तबसम्म सफल हुन सक्दैन जबसम्म पुरानो पुस्ताले आफू एक पंक्ति पछाडि बस्ने उदारता देखाउँदैनन्।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्