संविधान दिवस’का दिन घोषणा गरेको मानपदवी, अलंकार र पदक वितरणमा सरकारको ‘मनोमानी’ देखिएको छ ।
पदक वितरणको मुख्य जिम्मेवारीमा रहेको गृह मन्त्रालयको ‘राजनीतिक र प्रशासनिक नेतृत्वले संवेदनशीलता नअपनाउँदा आवश्यक’भन्दा बढीले विभूषण र तक्मा पाएका छन् । कैयौंलाई विधि मिचेर तक्मा वितरण गरिएको छ ।
मापदण्डकै उल्लंघन
पदक पाउनेमा गृह र मातहत निकायका कर्मचारी अत्यधिक छन् । सरकारले मानपदवी, अलंकार र पदक गरी ९ सय ९३ जनालाई विभूषित गरेको छ । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो । गत वर्ष झन्डै ६ सय जनालाई वितरण गरिएको थियो ।
प्रत्येक वर्ष विभूषित संख्या बढ्दो छ । यसपटक सबैभन्दा ठूलो विभूषण ‘नेपाल रत्न’ पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई प्रदान गरिएको छ । यो पदक बनाउन झन्डै २५ देखि ३० लाख खर्च हुन्छ ।
यसैगरी, ‘राष्ट्र गौरव’बाट दिवंगत राजनीतिज्ञ जीवराज आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, संस्कृतिविद् सत्यमोहन जोशी र ‘सुप्रसिद्ध प्रबल जनसेनाश्री’बाट संस्कृतिविद् जगमान गुरुङ विभूषित भएका छन् ।
मानपदवी ७ सय ३६, अलंकार १ सय ७६ र पदक ८१ जना गरी ९ सय ९३ जनालाई विभूषित गरिएको छ । पदक लिनेमा गृह मन्त्रालय र मातहतका कर्मचारी मात्रै ७४ जना छन् ।
– ३० करोडभन्दा बढी खर्च
– वितरणमा गृहको मनोमानी
– आफ्नो हात ‘जगन्नाथ’
‘पदक वितरण मापदण्ड’ भए पनि त्यसको बेवास्ता गरिँदै आइएको छ । मापदण्ड बेवास्ता गरेर पदक वितरण गर्दा पटकपटक विवादितसमेत बन्ने गरेको छ । पदक सिफारिस समिति संयोजक गृहमन्त्री आफैं छन् । सबै चाँजोपाँजो उनकै निर्देशन र योजनामा बन्छ ।
यसपटक गृह मन्त्रालयले पदकका लागि निवेदन पठाउन विभिन्न मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूलाई असार मसान्तसम्मको म्याद दिएको थियो । तर, म्यादभित्रै आएका निवेदनभन्दा ‘राजनीतिक नेतृत्वको सोर्सफोर्सका आधारमा आएका व्यक्तिलाई बढी विभूषित गरिएको’ छ । धेरैले गैरकानुनी रूपमा पदक लिएको समेत पाइएको छ ।
गृह मन्त्रालय प्रवक्ता फणीन्द्रमणि पोखरेल तक्मा वितरण प्रणालीमा पुनर्संरचना जरुरी रहेको बताउँछन् । तक्मा वितरणमा केही कमीकमजोरी रहेको समेत उनले स्वीकार गरे । वितरण प्रणालीमा पुनर्संरचना जरुरी रहे पनि मापदण्ड नै आधार मानेर वितरण गरिएको प्रवक्ता पोखरेलको दाबी छ ।
स्रोतका अनुसार यसपटक विभिन्न मानपदवी अलंकार र पदकका लागि राज्यकोषको २० देखि २५ करोड खर्च भएको छ । दुई वर्षअघिसम्म यसका लागि १२ देखि १५ करोड मात्रै खर्च हुने गरेको थियो ।
गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका अनुसार तक्मा पाउनेको संख्या झन्डै दोब्बरले बढेकाले यसपटक हालसम्मकै बढी खर्च भएको हो ।
सबैभन्दा ठूलो पदक ‘नेपाल रत्न’ बनाउन मात्रै झन्डै २५ लाख खर्च हुन्छ । हिरासुुन जडित सो तक्मा अत्यधिक मूल्यवान रहेको छ ।
यसपटक १० देखि १५ लाखसम्म पर्ने तक्मा धेरैले पाएकाले पनि राज्यकोषबाट बढी रकम खर्च हुने स्थिति आएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई कार्यान्वयनमा आएको सात वर्ष पुगिसक्दासमेत पञ्चायती र राणा शासनकै शैलीमा तक्मा वितरण भइरहेको भन्दै नागरिकस्तरबाट विरोध आएको छ ।
विभूषण ऐन २०६४ अनुसार ‘राष्ट्रिय जीवन’का विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई मुुलुकका तर्फबाट कदर तथा सम्मानस्वरूप मानपदवी, अलंकार तथा पदकजस्ता विभूषण (तक्मा) प्रदान गर्नुपर्ने प्रावधान छ । तर, यसमा कानुनी प्रावधान पूर्ण रूपमा बेवास्ता गर्ने गरिएको छ ।
गृह मन्त्रालयले तक्मा वितरणका लागि बनाएको कार्यविधिसमेत पालना भएको छैन । सो कार्यविधिअनुसार तक्मा पाउनेको सिफारिस गर्दा उसले राष्ट्रका लागि गरेको योगदान’bout समीक्षा हुनुपर्ने उल्लेख छ ।
तर, यसपटक तक्मा वितरण गर्दा गृह मन्त्रालय र राजनीतिक नेतृत्वबाट कार्यविधि ठाडो उल्लंघन भएको गृह मन्त्रालयकै कर्मचारीको गुनासो छ । कार्यविधिअनुसार गरिएको सिफारिसका आधारभन्दा उच्चपदस्थ राजनीतिक व्यक्तित्व, मन्त्री तथा सचिवको ‘पकेट’बाटै तक्मा पाउनेको नाम राखिएको दाबी गृह स्रोतको छ । कतिपय जिल्ला प्रशासन कार्यालयकाट आएको सिफारिस पूर्ण बेवास्ता गरिएका छन् ।
सोर्सफोर्सधारीको बाहुल्यता
सरकारकै सचिव, सहसचिव, उपसचिव, अधिकृत तथा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका उच्चअधिकारीले अत्यधिक संख्यामा पदक पाएका छन् । सोर्सफोर्सधारी उच्चव्यापारी घरनियासमेत यसमा सामेल छन् ।
विशुद्ध सामाजिक सेवामा सक्रिय दूरदराजका नागरिक अगुवाका लागि भने तक्मा पाउने विषय ‘आकाशको फल आँखा तरी मर’जस्तै हुने गरेको टिप्पणी गृह मन्त्रलायभित्र हुने गरेको छ ।
स्रोतका अनुसार गृह मन्त्रालयबाट नियमअनुसार जाने सिफारिसमा दर्जनौंको नाम गैरकानुनी रूपमा थपिने गरेका छन् । गृहबाट तक्मा पाउनेको सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेपछि प्रधानमन्त्री, मन्त्री तथा अनधिकृतले समेत नाम थपेर नियमविपरीत तक्मा दिने गरेको स्रोतको दाबी छ ।
गृह अधिकारीका अनुसार तक्मा वितरण प्रचलन राणाकाल र पञ्चायत कालकै निरन्तरताजस्तो हुन पुगेको छ । राणा कालमा शासकलाई रिझाउने व्यक्तिलाई ‘बक्सिस’स्वरूप तक्मा दिने गरिएको थियो भने पञ्चायत कालमा पनि पञ्चायती व्यवस्था र राजा महाराजाको गुनगान गाउनेलाई ‘गोरखा दक्षिणबाहु’ दिएर खुसी पारिन्थ्यो ।
के गर्लान् महले ?
अग्रज कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विभूषित गरिएको छ । उनीहरूलाई यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पनि विभूषित गरेको थियो । त्यतिखेर उनीहरूले विभूषण नलिने घोषणा गरेका थिए ।
यस्तो हुन्छ नेपाल रत्न
हिरा, सुन र मिना जडित यो तक्मा आठ कोणको मणिबाट बनेको हुन्छ । यसको व्यास ८.५ सेन्टिमिटर हुन्छ । अग्रभागको प्रत्येक कोणमा पाँच–पाँच वटा हिरा रहेको हुन्छ । कोणबीच दुई पातासहितको आठ वटा लालीगुराँस रहेको हुन्छ ।
आठवटा कोणबीच सुनको रश्मि आकारको आठ कोण हुन्छन् । सुनको रश्मि आकारभित्र कमलको पात आकारको आठवटा रातो मिना हुन्छ । यसको मध्यभाग सुनबाट बनेको नेपालको नक्सा र त्यसमाथि सुनकै सगरमाथाको चित्र हुन्छ ।
त्यस्तै, ‘राष्ट्रगौरव’, ‘राष्ट्रदीप’, ‘सुप्रबल जनसेवाश्री’ सुन, हिरा, मुगा जडित हुन्छन्, जसको मूल्य १० लाखसम्म पर्ने गर्छ ।
राजधानी न्युजबाट साभारछ ।
प्रतिक्रिया दिनुहोस्