खेलाडी भन्ने बितिक्कै केही मात्रामा भएपनि आक्रामक नहुने कुरै भएन। खेलका क्रममा लिइने हरेक निर्णय सही या गलत साबित भइरहँदा खेलाडीले आक्रामक प्रतिक्रिया जनाउनु स्वभाविक नै हो। त्यो खेलाडीको विशेषता पनि हो।

तर, हरेक खेलाडीको शैली एकै किसिमका हुन्छन् भन्ने चाहिँ छैन। यसको अपवादको रूपमा नेपाली टेबल टेनिसकी सुन्दरी एलिना महर्जन पनि एक हुन्। कोही ठूलो सफलतामा पनि शान्त रहन्छन्।

एलिनामा पनि यही विशेषता छ। हार सामना हुँदा पनि उनको प्रतिक्रिया उस्तै रहन्छ। उनी धेरै बोल्न रूचाउँदिनन्। तर उनको अनुहारले नै सबथोक भनिरहेको हुन्छ। विशेषतः आँखाले केही बोल्न चाहिरहेको हुन्छ। अनुहारमा जब खुसी छाउँछ, तब मन्द मुस्कान फुट्छ। त्यो साँच्चै मनमोहक देखिन्छन्। अनि गाला हल्का ‘डिम्पल’ बस्छ। नेपालको टेबल टेनिसमा एलिनाको सफलता शीर्षतामा पुगेको भने छैन।

तर, त्यो दिन धेरै टाढा नहुन पनि सक्छ। एकदिन उनी टेबल टेनिसमा नेपालको महिला च्याम्पियन हुन पनि सक्छिन्। किनकी उपाधि भिडन्तमा उनको नाम पनि आउने गर्छन्। जतिबेला एलिनाको नाम आउँछ, त्यसै पनि उनकी भाउजु नविता श्रेष्ठसँगै हुन्छिन्।

उपाधि भिडन्तमा एलिनाको चुनौती पनि भाउजु नै हुन्। टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले धेरै वर्ष अगाडि नयाँबजारको परिवारमा टेबल टेनिस खेल भित्र्याए। परिवारका सबै खेलाडी नै बने। जस्तो, एलिना र अन्य दुई दिदीबहिनी। पछि त्यस घरमा नविता पनि भित्रिइन्। त्यसअगाडि नविता च्याम्पियन नै थिइन्। पछि पनि च्याम्पियन रहिन्।

त्यो पनि कीर्तिमान आठपल्ट र त्यसमाथि झन् लगातार त्यो सफलता। त्यसमध्ये पछिल्ला पाँच अवसरमा नविता च्याम्पियन हुँदा एलिना नै उपविजेता रहिन्। को जित्यो? को हार्‍यो? त्यो आफ्नो ठाउँमा छ। तर एलिना छिन् र पो नविता पनि छिन्। भनिरहनु पर्दैन।

नेपाली टेबल टेनिसले पाएका उत्कृष्ट महिला खेलाडीमध्ये एक हुन्, एलिना। उनको नाममा दक्षिण एसियाली खेलकुद (साग) मा दुई कांस्य पनि छन्। एउटा सफलता महिला डबल्समा १२औं सागको हो। अर्को टिम इभेन्टमा थियो, जुन १३औं सागको हो। भारतमा सम्पन्न १२औं सागमा महिला डबल्समा पदक जित्दा एलिनाको पार्टनर को थियो होला? घरेलुमा उनको मुख्य प्रतिद्वन्द्वी नै साग सफलताको सारथी हुन्। उनी हुन् उनकै भाउजु नविता। यसअघि नविता आफैँले पनि पिपुल्स च्वाइस अवार्ड जितिसकेकी छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको पल्सर स्पोर्ट्स अवार्डको यही विधाको मनोनयमा यसपल्ट एलिना नै छिन्। उनी आफू यस विधाको मनोनयमा परेकोमा खुसी छिन्। अब प्रश्न उठ्छ, के एउटा परिवारका दुई सदस्यले पिपुल्स च्वाइस अवार्ड जितेको कीर्तिमान बन्न सक्छ त ? आफ्नो खेलमा के राम्रो र नराम्रो छ उनलाई राम्रैसँग थाहा छ।

उनी चाहन्छिन्, ढंगको प्रशिक्षण व्यवस्था होस् र खुलेर खेल्ने माहोल बनोस्। उनलाई कुनै दिन नेपाल च्याम्पियन हुनु नै छ। अन्तर्राष्ट्रिय स्तरमै पनि केही गर्ने उनको लक्ष्य छ। ठ्याक्कै भन्दा उनको ‘अर्जुन दृष्टि’ नेपाल च्याम्पियन बन्नु हो। विश्व खेलकुदमा सबै खेलाडी सफल नै हुन्छन् भन्ने छैन। तर, लक्ष्य प्राप्तिका लागि गरिने साधनाले भने सफलता चुम्न सहयोग गर्छ। यसमा एलिना पटक्कै कन्ज्युस्याइ गरिरहेकी छैनन्।

नियमित अभ्यास, कडा मिहिनत त भयो नै। उनी आफू मानसिक रूपमा बलियो हुन मेडिटेसन पनि गर्छिन्। मेडिटेडसन मात्र होइन, अन्य मानसिक अभ्यास पनि। र, एलिनाबारे एउटा अर्को तथ्य। उनी पेपर क्राफ्टकी निकै राम्रा कलाकार हुन्। कम बोल्ने बानी भयो नै। कागजको मद्दतले नयाँनयाँ सिर्जना उनी गरिरहेकी हुन्छिन्। यसले उनलाई खुसी बनाउँछ।

त्यो दिन उनी अझ खुसी हुनेछिन्, जतिबेला नेपाल च्याम्पियन बन्छिन्। अहिलेका लागि उनी पल्सर स्पोर्ट्स अवार्डमा केन्द्रित हुन चाहन्छिन्। उनलाई राम्रोस“ग थाहा छ, पिपुल्स च्वाइस अवार्ड जित्नका साथीभाई पनि उठ्नुपर्छ। सिङ्गो नेपाली टेबल टेनिस पनि जुरुमुराउनु पर्छ। उनको आफ्नै परिवारको सहयोग त चाहियो नै। दाइ राकेश र अनी खेल प्रतिद्वन्द्वी उनकी भाउजु नविताको पनि। फेरि, उनी नेपाल प्रहरीसँग आवद्ध खेलाडी पनि हुन्। नेपाल प्रहरीले पनि उनलाई आम खेल प्रेमीमाझ लोकप्रिय खेलाडी बन्न उतिकै धेरै मद्दत गर्न सक्छ। विश्वास गरौं, एलिनाको नेपाल च्याम्पियन हुने लक्ष्यमा पिपुल्स च्वाइस अवार्ड एउटा बलियो खुड्किलो हुनेछ।