हेटौंडा । अमीत गुरुङ (नेपथ्य)को कन्सर्ट आयोजना गरेको आयोजक रमाइलो इभेन्ट्सले गल्ती स्वीकार गर्दै पत्रकार महासंघसँग माफी मागेका छन् । बुधबार साँझ हेटौंडा-४,स्थित भुटनदेवी माध्यमिक विद्यालयको चौरमा नेपथ्यको कन्सर्ट आयोजना गरेको रमाइलो इभेन्ट्सले गल्ती स्वीकार्दै माफी मागेका हुन् । माघ १६ गते नेपथ्यको कन्सर्टबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको आयोजकले पत्रकारलाई कन्सर्टमा प्रवेश गराउने विषयमा बैठक बसेर प्रेस कार्ड वा पासमार्फत प्रवेश गराउने भन्ने कुराको छलफल गर्ने बताएका थिए। यद्यपि, पत्रकारकै साथ र सहयोगको अपेक्षा गरेको आयोजकले पत्रकारहरूका लागि कुनै पासको व्यवस्था नगरी “पत्रकार महासंघलाई १५ वटा पास पठाइसकेको छ” भनेर झुठो भ्रम फैलाउने काम गरेको थियो।
बिहीबार पत्रकार महासंघ मकवानपुरको अगुवाईमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा रमाइलो इभेन्ट्सका साकार शिवाकोटी, सजन न्यौपानेसहितको टोलीले गल्ती भएको स्वीकार्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीसहित पत्रकार महांसघका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीसँग माफी माग्दै उनीहरुले भने ‘पत्रकारहरुको मानमर्दन गर्ने हाम्रो नियत थिएन ।
जानअनजानमा गल्ती भएकोमा हामी दुःखी छौं । माफी समेत चाहन्छौं’, उनीहरुले भने । महासंघलाई पास नपठाएको र गलत हल्लाबाट महासंघ अध्यक्षसहित पत्रकारको मानमर्दन भएकोमा उनीहरुले माफी मागेका हुन् । कुनै कार्यक्रममा पत्रकारलाई बोलाउने वा नबोलाउने तथा प्रवेश दिने नदिने आयोजकको अधिकार भएको उल्लेख गर्दै महासंघ मकवानपुर अध्यक्ष अधिकारीले पत्रकारको नाम लिएर अनावश्यक र गलत हल्ला फैलाउने काम नगर्न रमाइलो इभेन्ट्ससहितका आयोजकलाई सचेत समेत गराए । कन्सर्टका आयोजकले बुधबार रिपोर्टिङका लागि पत्रकारलाई प्रवेश गर्नबाट रोक लगाएका थिए ।














प्रतिक्रिया दिनुहोस्