प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एक महिने चुनावी अभियान घोषणा गर्दै स्थानीय तहको निर्वाचनमा होमिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकारसम्मेलन गर्दै कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित एकमहिने चुनावी कार्यक्रम घोषणा गरेको हो । जसअनुसार कांग्रेस ७७ वटै जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा पुग्दै छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ नारासहित कांग्रेस जनताको घरघरमा पुग्ने बताए । उनले २९ फागुनबाट २९ चैतसम्म गरी एक महिना विशेष अभियान सञ्चालन हुने जानकारी दिए ।

– जनताका कुरा सुन्ने, आफ्नो सुनाउने

– तल्ला तहले नै घोषणापत्र बनाउने

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन अभियानमार्फत कांग्रेसले जनताको गुनासा सुन्ने र आफ्ना कुरा सुनाउने बताए । ‘एकमहिने अभियानमार्फत कांग्रेसले जनताको कुरा सुन्छ, हरेक प्रश्नको कांग्रेसले जनतालाई जवाफ दिन्छ र आफ्नो कुरा प्रस्ट रूपमा जनताका माझमा राख्छ,’ महामन्त्री शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अभियानका क्रममा हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व पुग्ने र जनताको आकाक्षा बुझ्ने बताए । उनले विपक्षी दलले जनतालाई भ्रमित बनाएको विषयमा कांग्रेसले अभियानमार्फत जनतालाई हरेक विषयमा स्पष्ट पार्ने पनि दाबी गरे ।

‘विपक्षीहरूले राष्ट्रिय मुद्दाहरूमा जति पनि भ्रम छरेका छन्, त्यसलाई स्पष्ट रूपमा यो अभियानमार्फत चिर्ने उद्देश्य छ,’ महतले भने ।

अभियानमार्फत कांग्रेसले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गैरसंवैधानिक काम र सरकारको नेतृत्वमा आउनुको कारण पनि जनतालाई सुसूचित गर्नेछ ।

यस्तै, कांग्रेसले अभियानमार्फत स्थानीय तहको पहिलो कार्यकालको समीक्षा गर्ने पनि जनाएको छ । सो क्रममा स्थानीय, प्रदेश र केन्द्र सरकारबीच देखिएका समस्या र त्यसको निराकरण’bout सुझाव संकलनसमेत गर्ने कांग्रेसको तयारी छ ।

यसैगरी, संसद्बाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि जनताका बीचमा प्रचार गरिएको भ्रमलाई निर्वाचन अभियानमार्फत चिर्ने कांग्रेसको तयारी छ ।

कांग्रेसले निर्वाचन अभियानका लागि ७७ वटै जिल्लामा पार्टीका केन्द्रीय सदस्यलाई कमान्डर तोकिसकेको छ । उनीहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहका नेतृत्वसँगको सहकार्यमा स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै अभियान अघि बढाउने जिम्मेवारी दिएको छ ।

कांग्रेसले स्थानीय निर्वाचनका लागि घोषणापत्र तयार पार्ने जिम्मा भने स्थानीय समितिलाई नै दिने तयारी गरेको छ । यसरी घोषणापत्र तयार गर्दा स्थानीय तहको आवश्यकतालाई ध्यानमा राखेर बनाउनुपर्ने कांग्रेसको निर्देशन छ ।

यो समाचार राजधानिबाट साभार गरिएके हो