यस वर्षको फागु अर्थात् होली पर्व बिहीबारबाट सुरु हुँदै छ । बिहीबार बिहान वसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुन्डाइएको तीनतले चीर ठड्याएपछि यसपालिको फागु पर्व सुरु भएको हो । चीर गाडेपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रंग र अबिर एकआपसमा छ्याछ्याप गरेर फागु खेल्ने परम्परा छ । होलीकै भोलिपल्टबाट ऋतुहरूका राजा वसन्त ऋतुको आगमन हुने विश्वास छ बिहीबार बिहान ७ बजेर २७ मिनेटको नेपाल पञ्चांग निर्णायक समितिको साइतमा मानन्धर समाजले चीर अथवा लिंगो ठड्याएपछि होली पर्व सुरु भएको धाला सिक्व मानन्धरका सहसचिव गजेन्द्रप्रसाद मानन्धरले जानकारी दिए । मानन्धर समाजको टोली र सेनाको टुकडीले चीर उठाएपछि यसपालिको होली सुरु भयो,’ उनले भने, ‘हरेक वर्षको फागुन शुक्ल अष्टमीका दिन लिंगो ठड्याउने चलन छ । रंगीचंगी ध्वजापताकासहितको कपडाले बेरिएको चीर ठड्याउन मानन्धर समाजलाई सेनाको टुकडीले पनि सहयोग गरेको थियो । त्यस क्रममा गुरुज्यूको पल्टनले बाजा गाजासहित हर्षबढाई गरेको थियो ।

भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयलको रुखको हाँगालाई विशेष पूजा गरेर चीर ठड्याउने चलन छ । तर, पछिल्लो समय बाँसलाई पायक पर्ने स्थानबाट ल्याउने गरिएको काठमाडांै २४ वडा जात्रा व्यवस्थापन समितिका अध्यक्ष राजन मर्हजनले बताए । यसैगरी ललितपुर र भक्तपुरमा समेत बाँस र मयलका रुख ठड्याई त्यसमा विभिन्न रगंको कपडा फहराउने गरिन्छ । अबको ८ दिनपछि अर्थात् फागुपूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ । ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ । बिहीबार उठाइएको लिंगोलाई आउने ३ चैतमा फागुपूर्णिमाका दिन ढालेपछि यो वर्षको होली सकिनेछ ।

असत्यमाथि सत्यको विजयको प्रतीक चीरलाई गुर्जुको पल्टनले बढाइका साथ परिक्रमा पनि गरेको थियो । हनुमानढोकाको मोहनकाली चोक तथा दाख चोकमा विशेष सजावट पनि गरिएको छ । मोहनकाली चोकमा रहेको भगवान कृष्णको मुरलीसहितको काष्ठमूर्ति र सँगै रहेका अर्धनग्न गोपिनीको मूर्तिमा अबिर छ्यापेर पूजा गरिएको छ ।

हनुमानढोका दरबारको गद्दी बैठक नजिकै ठड्याइएको चीरलाई पूर्णिमाका दिन पञ्चांग समितिको बेलुकी शुभ साइतमा ढालिन्छ । चीर दहन भएपछि असत्यमाथि सत्यको जित भएको मानिने मानन्धरले बताए । यो वर्ष पहाडी जिल्ला तथा उपत्यकामा ३ चैतमा होली मनाए पनि तराईमा भने ४ चैतमा होली मनाइँदै छ । आसुरी शक्तिकी द्योतक होलिकालाई आगोले भस्म गरी सत्यवादी भक्तप्रह्लादको उद्धारको कथा, भगवान कृष्ण र नग्न अवस्थामा गोपिनीहरूले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथालगायतका प्रसंगहरू होलीसँग जोडिएको धार्मीक ग्रन्थमा उल्लेख छ । होलीमा रंगहरू र अबिर एक आपसमा छ्याप्ने गरिए पनि पछिल्लो समयमा पानीकै बढी प्रयोग हुने गरेको छ । होलीका बेला भाङको लड्डु, घोट्टालगायत खाएर रमाइलो गर्ने चलन छ ।

यो समाचार राजधानिबाट  नवीन लुइँटेल बाट साभार गरिएके हो