- नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन १५ आज घरघरमा खीर खाएर मनाइएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वाध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन सुरु भएको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुन सक्ने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन वा प्रमाण भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही चिउरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । खीर खाने पर्वका रुपमा साउन १५ मनाइने भएकाले आज बजारमा दूधको बिक्री पनि धेरै भएको व्यवसायीले जनाएका छन् । धेरै स्थानमा दिउँसै दूध सकिएको थियो । गत वर्षदेखि साउन १५ लाई राष्ट्रिय दुग्ध विकास बोर्डले खीर दिवसका रुपमा घोषणा गरेको छ । दूधमा बनेका परिकारले कोरोनाजस्ता भाइरसबाट बचाउन सफल हुने भएकाले रोग प्रतिरोधी क्षमता वृद्धिमा सहयोग पुग्ने बोर्डले जनाएको छ । –––रासस



















प्रतिक्रिया दिनुहोस्