नेपाली काँग्रेस पार्टीको रातेहट सभापतिमा सुनिलकुमार यादव विजयी भएका छन्। संस्थापन पक्षका यादवको करिब प्यानल नै पार्टीको चौधौँ जिल्ला अधिवेशनबाट विजय प्राप्त गरेको छ।

देउवा पक्षका यादवले जिल्ला सभापतिमा एक हजार ३६२ मत प्राप्त गर्दा कोइराला पक्षका हृदयनारायण यादवले एक हजार ६४ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेस रौतहटको एक सचिव पदमा रामचन्द्र गिरीबाहेक बाँकी सम्पूर्ण पदाधिकारीमा देउवा पक्षले विजय प्राप्त गरेको छ।

नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालय निर्वाचन अधिकृत दीपकराज रेग्मीले दिएको जानकारी अनुसार दुई उपसभापति पदमा संस्थापन पक्षका रामलोचनप्रसाद कललार र धीरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्।

पार्टीको दुई सचिवमध्ये एकमा संस्थापन पक्षका राजेशकुमार चौधरी विजयी भएका छन् भने अर्कोमा कोइराला पक्षका गिरी विजयी भएका हुन्।

दुई सहसचिवमा संस्थापन पक्षकै मोहम्मद फिरोज आलम र सिकेन्द्र पटेल विजयी भएका छन्। निर्वाचनको सम्पूर्ण मत गणनाको परिणाम अझै आइसकेको छैन। सदस्यतर्फको मत गणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो