नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित पारित गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्। सबैको सहमतिमा एमसिसी पारित होस् भन्ने कांग्रेसको चाहना रहेको र त्यसका लागि प्रयास गरेको बताउँदै उनले नेपालले सबैसँग सहयोग लिएर विकास गर्नुपर्छ भनेर नै यसअघि भारतसँग बिप्पा, चीनसँग बिआरआई र अमेरिकासँग एमसिसी सम्झौता गरिएको स्पष्ट पारे।

वर्तमान संसद्मा रहेका सबै पूर्वप्रधानमन्त्री र पछिल्ला १० वर्षका सरकारमा रहेका सबै दल एमसीसी सम्झौतालाई अगाडि बढाउन संलग्न भएको स्मरण गराउँदै उनले पहिला सम्झौता गरेर अहिले विरोध गर्नुको कुनै अर्थ नभएको बताए। एमसिसी सम्झौता अनुमोदन भएपछि नेपालको कानूनभन्दामाथि हुन्छ भनेर अनावश्यक हल्ला फैलाइएको दाबी गर्दै नेता थापाले सबैले सम्झौता गरेको अवस्थामा सबै मिलेर सम्झौताका बारेमा स्पष्ट पार्नुपर्ने बताए।

नागरिकस्तरबाट उठेका प्रश्नको संसद्ले स्पष्ट पार्नुपर्ने आवश्यकता ठहर गर्दै व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन गरिनुपर्ने उनको भनाइ थियो। व्याख्यात्मक घोषणामा लेखिएको विषय अर्को पक्षले मानेपछि मात्र सन्धि अगाडि जाने उल्लेख गर्दै सन्धिमा लेखिएभन्दा तलमाथि भए पनि नेपालले सन्धि खारेज गर्छ भन्ने विषय पारित गरिनुपर्ने बताए।

‘एमसिसी पारित गरौँ, अमेरिका, चीन, भारतसँग सहयोग लिएर देशको पक्षमा काम गरौँ’, सांसद थापाले भने। ‘उठेका प्रश्न व्याख्यात्मक घोषणा सरकारले ल्याओस् त्यसमा छलफल गरौँ, घोषणासहित त्यसलाई पारित गरौँ।’

 

https://gorkhapatraonline.com/mainnews बाट साभार गरिएको हो ।