
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा एकैदिनमा ५ वटा पूर्वाधारको उद्घाटन गरिएको छ । बिहीबार एक समारोहकाबीचमा नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य गाउँपालिका वडा नम्बर–६, को विभिन्न स्थानमा निर्माण सम्पन्न भएका ५ वटा पूर्वाधारको उद्घाटन गरेका छन् । प्रदेश सभापति बानियाँले वडा नम्बर–६,स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको उद्घाटन गरेका हुन् ।
उनले पूर्वाधारको उद्घाटन गर्दै अरु वडा भन्दा ६ नम्बर वडा भौगोलिक दृष्टिले ठूलो र दुर्गम रहेको बताएका छन् । वडा–६ मा प्रदेश र स्थानीय तहको समन्वयमा बिगतदेखि नै विभिन्न विकास निर्माणका योजना सञ्चालन हुँदै आएको बताउँदै व्यक्तिको आस्था जुनसुकै पार्टीमा भएपनि जनप्रतिनिधिले जनता र गाउँको विकासमा राजनीति गर्न नहुने सुझाव दिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट स्थानीय जनताको विकासमा आएका अवरोधहरुलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर समाधान गर्ने विश्वास दिलाएका छन् । उनले तटबन्ध, बाटो र अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । पालिका र प्रदेश सरकारको समन्वयमा स्थानीय जनतालाई रोजगारी तथा आयआर्जनमा जोड्ने योजनामा जनप्रतिनिधिलाई अनुरोध गरे ।
बागमती प्रदेश, मनहरी गाउँपालिका र वडाबाट विनियोजन भएको बजेटबाट निर्माण गरिएको पूर्वाधाको उद्घाटन कार्यक्रममा मनहरी–६ का वडा अध्यक्ष युवराज थपलियाको सभाध्यक्षता तथा सभापति बानियाँको प्रमुख आथित्यतामा भएको हो । कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्