नेपाली यु–१८ महिला फुटबल टोलीकी कप्तान प्रीति राईले भारतमा आयोजना हुने साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन्।

उक्त च्याम्पियनसिपमा नेपालसहित भारत र बंगलादेश खेल्दैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार आयोजना गरेको बिदाइ कार्यक्रममा कप्तान प्रीतिले टोलीको लक्ष्य उपाधि जित्ने रहेको बताएकी हुन्।

महिला लिगका लागि खेलाडीले तयारी गरिरहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भए पनि राम्रो खेलेर नै उपाधि जित्ने उनको भनाइ छ। ‘यस टोलीमा रहेका खेलाडी कुनै न कुनै टोलीसँग आसन्न महिला लिगका लागि आबद्ध भएर तयारी गरिरहेका छन्। सोही कारण फिटनेस पनि राम्रो छ,’प्रीति राईले भनिन्, ‘महिना दिनको अभ्यास गरेका छौं। सबै खेलाडीको तालमेल राम्रो छ। प्रतिद्वन्द्वी बलिया टोली भए पनि उपाधि जित्ने लक्ष्य छ।’

लगातार दुई संस्करण विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता भारतसँग खेल्ने नेपाली टोलीले करिब एक महिनाको प्रशिक्षणबाट प्रतियोगितामा सहभागिता जनाउँदै छ। सन् २०१८ मा भुटानमा सम्पन्न पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बन्चित भएको थियो। तेस्रो संस्करणमा भारतसहित नेपाल र बंगलादेशले जमसेदपुरमा मार्च १५ देखि २५ सम्म प्रतिस्पर्धा गर्दैछन्। च्याम्पियनसिपका लागि नेपाल शनिबार भारत प्रस्थान गर्नेछ।

डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले मार्च १५ मा भारतसँग खेल्नेछ। नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ। यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका छ।

शीर्ष टोलीले उपाधि जित्नेछ। यस प्रतियोगिताका लागि मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतले बिहीबार २३ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेका थिए। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले बिदाइ गरेका थिए।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो