बागमती प्रदेशको राजधानी हेटौँडा–४ स्थित ड्रीम्स म्युजिक स्कुलको आयोजनामा भइरहेको नृत्य प्रतियोगिता ‘डान्स मेरो मनको – जुनियर २०८३’ को अन्तिम प्रतिस्पर्धा फाइनल आगामी साउन १० गते हुने भएको छ।

आयोजकले पत्रकार सम्मेलन गरी प्रतियोगिताको अन्तिम चरणमा २१ जना बालप्रतिस्पर्धीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो।

हेटौँडा–४ स्थित ओम्याक्स हलमा आयोजना गरिने फाइनल कार्यक्रम सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको स्कुलका सञ्चालक अनन्त खुलालले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। त्यसैगरी, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीहरूलाई पनि आकर्षक नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताकी निर्णायक जज सन्ध्या आचार्यले जानकारी दिइन्। टिकटका लागि ओम्याक्स सिनेमा हलमा सम्पर्क गर्न सक्नुहुनेछ ।