सिङ्गुसले टोकेर तनहुँमा आज एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो।
शरीरैभरि सिङ्गुसले टोकेर सख्त घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१ तालघरे नजिक सिमलको रुखमा रहेको सिङ्गुसले राजमार्ग भएर हिँड्ने सर्वसाधारण र मोटरसाइकलमा सवारलाई टोकेको उनले बताए। सिङ्गुसले टोकेर घाइते भएकाहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उक्त राजमार्ग भएर हिँड्डुल गर्ने सर्वसाधारण र चालकलाई सचेत भएरमात्रै हिँड्डुल गर्न प्रहरीले अनुरोध गरेको छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्