हेटौंडा । टोल विकास नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले विश्व वतावरण दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रममा हेटौंडा–१,स्थित पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण गरेको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा पाथीभरा मन्दिरको बाटोमा १०० वटा बढी विरुबाहरु मंगलबार रोपिएको हो । संस्थाका अध्यक्ष ध्रर्व प्रसाद अधिकारीको सभाध्यक्षमा तथा नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा वृक्षारोपण कार्यक्रम भएको थियो ।

कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, हेटौंडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इन्जिनियर चन्दा खड्का, वातावरण शाखा प्रमुख हिमप्रसाद पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव एवं कार्यक्रम संयोजक देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ का अध्यक्ष यज्ञ बहादुर आचार्य लगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

नगर प्रमुख लामाले वृक्षारोपण केवल बिरुवा रोप्ने कार्य मात्र नभई भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने महत्वपूर्ण अभियान भएको बताइन् । उनले वातावरण संरक्षणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षणमा स्थानीय समुदाय, मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्थाहरूले विशेष जिम्मेवारी लिनुपर्ने बताइन् ।

संस्थाका अध्यक्ष अधिकारीले विश्व वातावरण दिवसलाई केवल औपचारिकतामा सीमित नगरी व्यवहारिक रूपमा वातावरण संरक्षणका गतिविधिहरू सञ्चालन गरिएको बताए । उनले गत वर्ष विश्व वातावरण दिवस तथा अन्य अवसरहरूमा यस क्षेत्रमा रोपिएका बिरुवाहरू स्थानीय समुदायको संरक्षण र अपनत्वका कारण राम्रो अवस्थामा रहेको उल्लेख गर्दै यस वर्ष थप क्षेत्रमा वृक्षारोपण गरिएको जानकारी दिए ।
वृक्षारोपण कार्यक्रमले पाथीभरा मन्दिर क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कार्यम गर्न र हरियाली विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी