महिला कुटपिट गरेको आरोपमा प्रहरी हिरासत सम्म पुगेकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। श्रीमान खोइ भन्दै तुलसीपुर ५ की महिला मिना भण्डारी र उनकी छोरीमाथि कुटपिट गरेपछि बिमलालाई प्रहरीले नियन्त्रणमा लियो।

घटनाको यकिन कारण नखुलेपनि मिनाका श्रीमान एकराज बस्नेत र राज्यमन्त्री बिमलाबीचको सम्बन्ध नै यो घटनाको प्रमुख कारण रहेको आँकलन गरिएको छ। त्यसो त, बस्नेत र राज्यमन्त्री ओलीको केही समयअघि सार्वजनिक भएको तस्बिरले पनि यो ‘लख’ को सत्यता माथि बल पुर्याएको चर्चा चलेको छ। महिला र एक बालिकामाथि कुटपिट गरेर अहिले प्रहरी हिरासतमा रहेकी राज्यमन्त्री बिमला यो घटनामा मात्रै हैन, समग्रमा उनको प्रदेशसभा यात्रा नै बिवादमुक्त बन्न सकेन। फलतः उनको राजनीतिक यात्रालाई नै ‘हल्का’ टिप्पणी गर्ने वातावरण उनकै कारण सृजना भयो।

लुम्बिनी प्रदेशसभा सदस्य श्रीमान उत्तरकुमार वलीको जीप दुर्घटनामा परि निधन भएपछि तत्कालीन नेकपाले उत्तरकी पत्नी बिमलालाई प्रदेशसभा उम्मेदवार बनाएर वली परिवार प्रति सहानुभूती जगायो। तत्कालीन प्रदेशसभाको उपनिर्वाचनमा कांग्रेसलाई पराजित गरेर प्रदेशसभा भित्रिएकी बिमलाको यो राजनीतिक यात्राको सुरुवाती महत्वपूर्ण ‘ईनिङ’ थियो। किनकी उनी यसअघिसम्म सकृय राजनीतिमा थिईनन् न त राजनीतिक ‘चेत’ नै थियो।

प्रदेशसभामा उनको प्रतिनिधित्वले उनको राजनीतिक यात्राको महत्वपूर्ण मार्ग कोरिरहेको भएपनि उनको यात्रा तत्कालीन नेकपा खारेजी पश्चात ढुलमुलाउन थाल्यो। अनि संसदमा चल्ने अंकगणितको हिसावमा बिमला जोड/घटाउका प्रमुख ‘चिन्ह’ बन्न थालिन्। अनि ‘बिमला बेपत्ता’ काण्डहरु एक पछि अर्को गर्दै जन्मिए।

दाङ क्षेत्र नम्बर ३ (ख) को उपनिर्वाचनबाट निर्वाचित बिमला २०७८ वैशाख १९ मा पहिलो पटक बेपत्ता भएको खबर बाहिरियो। नेकपा खारेज भई एमाले र माओवादी केन्द्र अलग भैसकेको अवस्थामा सत्तारुढ एमालेले उनलाई बिपक्षी गठबन्धनले बेपत्ता पारेको आरोप लगायो। नेकपा खारेजी पश्चात दल रोज्ने अधिकार पाएकी बिमला माओवादी रोज्ने तयारीमा थिईन्। उनि बेपत्ता भएको खबर बाहिरिएको केहीबेरपछि उनले पत्रकार सम्मेलनै गरेर भनिन् ‘म बेपत्ता भएको छैन, म यहीँ छु।’

त्यो पत्रकार सम्मेलन मार्फत नै उनले आफूले नेकपा माओवादी केन्द्र रोजेको स्पष्ट समेत पारिन्। तर एमालेले भने त्यो बेला माओवादीले नै बिमलालाई कब्जामा लिएर बलजफ्ती पार्टी प्रवेश गराएको भनेर आरोप लगायो। ‘त्यो बेला बिमला जी आफू स्वेच्छाले जानु भएको हैन नि,’ एमालेका प्रदेश प्रमुख सचेतक भुमिश्वर ढकालले त्यो बेला भनेका थिए ‘माओवादीले उहाँलाई सकेसम्मको शक्ति प्रयोग गरेर भित्र्याएको यथार्थता प्रष्टै छ।’

सत्तारुढ एमालेको नजरमा बेपत्ता बनेकी उनै सांसद बिमला तीन महिना पश्चात २०७८ साउनमा फेरी बेपत्ता बन्न पुगिन्। वैशाख १९ मा उनले रोजेकै दल नेकपा माओवादी केन्द्रसंग उनको सम्पर्क टुटेपछि माओवादी केन्द्रले उनलाई बेपत्ता भएको धारणा सार्वजनिक गर्यो। केही समयपछि सम्पर्कमा आएकी उनले त्यो बेला आफू बिरामी भएर उपचारका लागि नेपालगन्जमा रहेको र बेपत्ता नभएको बताएकी थिईन्।

माओवादी केन्द्रले भने सांसद बिमला बेपत्ता भएको मात्रै बताएन, सत्तारुढ एमालेले नै उनलाई बेपत्ता पारेको दाबी गरेको थियो। त्यो बेला शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार फेरबदलको कसरत चलिरहेको थियो। सरकार फेरबदलका लागि बिमलाको मत नै निर्णायक थियो। यही योजना मुताबिक सांसद बिमलालाई एमालेले आफ्नो पक्षमा पार्ने रणनीति बनाएको आरोप माओवादी केन्द्रको थियो। उनी बेपत्ता भएको भनिएकै बेला बिमलाकै नाममा आफू एमालेमा रहेको बिज्ञप्ती सार्वजनिक भैसकेको थियो।

फलतः बिमला एमालेमा फिर्ता भैसकेकोमा माओवादी केन्द्र ढुक्क जस्तै बनिसकेको थियो। तर बिमला बेपत्ता प्रकरणमा हप्ता  दिन पछि नयाँ ‘ट्विस्ट’ आयो। पुनः एमालेमै फिर्ता भैसकेको आँकलन गरिएकी बिमला आफू तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल र एमालेका अन्य नेताहरुको अपहरणमा परेको र ७ दिनसम्म मुख्यमन्त्री कार्यालयमै बन्धक बनाएर राखेको स्पष्टिकरण दिन सार्वजनिक भईन्। र आफू एमालेमै रहेको भनेर विज्ञप्ती सार्वजनिक गरेकी उनले फेरी भनिन् ‘म माओवादी मै छु।’ आफू माओवादी मै रहेको भन्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएकी बिमलाले एमालेका नेताहरुले आफूलाई त्यो बेला ‘जवरजस्ती’ विज्ञप्तीमा हस्ताक्षर गर्न लगाईएको दाबी समेत गरेकी थिईन्।

उनका अनुसार एक जना तत्कालीन मन्त्रीको गाडीमा एमालेका नेताहरुले उनलाई झुक्याएर बुटवल पुर्याएका थिए। बिमलाको बयान थियो ‘मलाई नेपालगन्ज भनेर गाडीमा हालियो अनि एकाएक बुटवल पुर्याईयो।’  तर नेपालगन्ज जानका लागि पश्चिम जानु पर्ने भएपनि एकाएक पूर्वतर्फ गाडी हुँईक्याएपछि उनले असन्तुष्टि जनाएकी थिईन्। बिमलाले माओवादी सांसदहरुसँग गरेको कुराकानी अनुसार उनलाई सिधै मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुर्याईएको थियो। बिमलाले भने अनुसार बुटवल पुर्याईएकी उनलाई बाहिर निस्कनै दिईएको थिएन। मुख्यमन्त्रीको निवासमै आफू बन्धक रहेको र आफू भएको स्थानमा कोही पनि नभएको मौका छोपेर आफू भाग्न सफल भएको बिमलाले दाबी गरिन्।

एमालेको अपहरणमा परेको र आफू माओवादीमै रहेको भनेर स्पष्टिकरण दिएकी उनै बिमलाको मतको जोडबलमा तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकार परिवर्तन भयो। अनि त्यही योगदानकै प्रतिफल माओवादी नेतृत्वको वर्तमान प्रदेश सरकारले बिमलालाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको थियो। पटक पटक बेपत्ता पारिएको, बन्धक बनाइएको भनेर बिवादित बनेकी सांसद बिमला राज्यमन्त्री बनेपछि महिला तथा बालिका कुटपिटको अर्को जघन्य मुद्दामा मुछिएकी छिन्।

दुई पटक बेपत्ता पारिएको भनेर चर्चामा आएकी बिमलाले आफूलाई अपहरण गर्ने र बन्धक बनाएर राखेका प्रमुख योजनाकार भनिएका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मुद्दा दर्ताको तयारी समेत थालेकी थिईन्। यती मात्रै हैन, बिमला एमालेकै सांसद रहेको भन्दै एमालेले गरेको विरोधका कारण लामो समय सम्म प्रदेशसभा बन्धक जस्तै बन्न पुग्यो। बिमलालाई एमालेले कारवाही गरेको निर्णय प्रदेशसभालाई बुझाएको थियो। सोही निर्णयका आधारमा बिमलालाई सांसद पदबाट निलम्बन गर्नु पर्ने अडान राखेको थियो। तर प्रदेशसभाले उनलाई कारवाही गरिएको सूची टाँस नगरेको भन्दै एमालेले लामो समय सम्म संसद अवरुद्ध पारेको थियो।

यसअघि सामाजिक सञ्जालमा उक पुरुषसंगको अस्वाभाविक तस्बिर सार्वजनिक भएपछि उनको फेरी आलोचना भयो। त्यो तस्बिर बिमलाले मंगलबार कुटपिट गरेकी महिलाका श्रीमान एकराज बस्नेतसंगको थियो।