निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरुको तस्बीर ।

हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचनको क्रममा खटिएका निर्वाचन प्रहरीको विदाई गरिएको छ । बिहीबार हेटौंडा–४,स्थित हुप्रचौरमा एक कार्यक्रमकोबीच प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफलापूर्वक सम्पन्न गर्नका लागि ४० दिनसम्म खटिएका निर्वाचन प्रहरीको विदाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले निर्वाचनको समयमा खटिएका करिब १ हजार ९ सय २३ जना प्रहरीलाई टिका खादा अबिर लगाइदिएर सम्मानका साथ विदाई गरेको थियो ।

निर्वाचनको क्रममा खटिएका प्रहरीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबहादुर खत्रीको सभाध्यक्षमा तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख बसन्त अधिकारीको प्रमुख आतिथ्यमा निर्वाचन प्रहरीलाई विदाई गरिएको थियो । निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नका लागि मकवानपुरमा भएका ६ सय जना प्रहरीले नपुग्ने भएकोले निर्वाचन प्रहरीको आवेदन खुल्ला गरेर उनीहरुलाई खटाएको प्रहरी उपरीक्षक खत्रीले बताए ।

उनले निर्वाचनलाई सफला पूर्ण तरिकाले सम्पन्न गर्नका लागि सहयोग गर्ने निर्वाचन प्रहरीलाई धन्यवाद व्यक्त गरे । भावी समयमा आफूले प्रहरीको जागिर गर्नका लागि पनि निर्वाचन प्रहरीले पाएको प्रमाणपत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सबैलाई प्रमाणपत्र समाल्न आग्रह गरे । विदाईको क्रममा निर्वाचन प्रहरीले विभिन्न नृत्यको प्रस्तुती गरेका थिए भने निर्वाचन प्रहरीको बाचा गाजासहित विदाई गरिएको थियो । निर्वाचनको प्रहरीको विदाई कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्णसारु मगरको पनि उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी