धनगढी उपमहानगरपालिका–१९ फूलबारीस्थित नवनिर्मित बसपार्क सञ्चालनमा आउने भएको छ । उद्घाटन भई हालसम्म सञ्चालनमा आउन नसकेको उक्त नवनिर्मित बसपार्क भदौ १ गतेदेखि सञ्चालनमा आउने भएको हो । आज उपमहानगरपालिकामा बसेको सरोकारवालासँगको बैठकमा भदौदेखि उक्त बसपार्क सञ्चालन गर्ने निर्णय भएको नगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो । भदौदेखि फूलबारी हुँदै पूर्व जाने र फूलबारी हुँदै धनगढी आउने सबै बस वडा नं १९ मा रहेको बसपार्कभित्र भएर मात्रै सञ्चालन हुने जनाइएको छ । भदौदेखि माघ मसान्तसम्म छ महिना बसपार्क निःशुल्क सञ्चालन हुनेछ । बसपार्कमा रेखदेख, सरसफाइ र सुरक्षाको काम बस व्यवसायी समितिले गर्ने र चौकीदारका लागि मासिक रु १० हजार उपमहानगरपालिकाले उपलब्ध गराउने निर्णय भएको छ । विद्युतीय रिक्सालाई पनि त्यही बसपार्कबाट चलाउने व्यवस्थाका लागि सरोकारवालासँग अर्को बैठक बस्ने निर्णय भएको छ । उक्त बसपार्क गत वर्ष भदौ ४ गते उपमहानगरपालिकालाई निर्माण कम्पनीले हस्तान्तरण गरेको थियो । फूलबारी बसपार्क सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले रु दुई करोड ७७ लाखको लागतमा निर्माण गरेको थियो । –रासस––




















प्रतिक्रिया दिनुहोस्