हेटौंडा । हेटौंडा–८,कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा जारी चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत कमाने थर्डआइ जापान समुराइले लिगको खेलमा पहिलो जीत निकालेको छ । बुधबार चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा कमाने रोयल्सलाई डीएल मेथोड अनुसार ४७ रनले हराउँदै पहिलो जीत निकालेको हो । लिग चरणको ४ खेल खेलेको कमाने थर्ड ३ खेलमा हारव्यर्होरेको छ भने एक जीत मात्र निकाल्न सकेको छ ।

पहिले व्याटिङ गरेको कमाने थर्डआइ जापान समुराइले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८८ रन जोड्न सकेको थियो । तक्षक सिम्खडाले सर्वाधिक ६८ बलमा १ सय ४३ रन बनाउँदै शतक प्रहार गरेका थिए । विशेष थापाले १२ बलमा १९ रन र निकेश श्रीवास्तवले २ बलमा ७ रनमात्रै जोडेका थिए । बलिङतर्फ कमाने रोयल्सका प्रेम क्षेत्री र भुवन थापाले समान २÷२ विकेट लिएका थिए ।

१ सय ८९ रनको लक्ष्य पच्छ्याएर जवाफी व्याटिङ गरेको कमाने लायन्स १२ ओभर ५ बलमा ९१ रन बनाउँदै सबै विकेट गुमाएको थियो । अजय पटेलले १३ बलमा २४ रन, गौरव खड्काले ७ बलमा १२ रन र भुवन थापाले ९ बलमा ११ रन बनाएका थिए । बलिङतर्फ थर्डआइका अहमद राजाले सर्वाधिक ४ विकेट लिएका थिए । निकेश श्रीवास्तव र समीर मगरले समान २÷२ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच थर्ड आइका तक्षक सिम्खडा भएका छन् । भोलि बिहीबारको पहिलो खेलमा कमाने राइडर्स र कमाने इप्लानेट ब्लास्टरबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो खेलमा कमाने एक्सपर्ट भिजन–११ र कमाने रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टको मुख्य प्रयोजनमा सञ्चालन भएको प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी