प्रेस काउन्सिल नेपालले नयाँ अनलाइन सुचिकरणका लागि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्य अभिमुखीकरणमा सहभागी हुनुपर्ने बनाएको छ ।
अनलाइन पत्रकारितालाई व्यवस्थित गर्न र ‘पत्रकारलाई जिम्मेवार बनाउन आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई निरन्तरता दिएको काउन्सिलले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं विषय विज्ञ शिव गाउँलेले पत्रकारका लागि आचारसंहिता मूलमन्त्र भएको बताए ।
अरूको समस्या आफ्नै समस्या मानेर आफूले लेखेको समाचारलाई पाठक भई पढेर र गोपनीयताको हकको सम्मान गर्नुपर्ने बताए ।
अभिमुखीकरण कार्यक्रमलाई अघि सारेर काउन्सिलले राम्रो सुरूवात गरेको उनको भनाई छ ।
बालमैत्री, ज्येष्ठ नागरिकमैत्री, अपाङ्गतामैत्री तथा महिला उत्तरदायी सञ्चार निर्देशिकाहरूको कसरी व्यवहारमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा काउन्सिलका बोर्ड सदस्य एवं विषय विज्ञ दीपक पाण्डेले जानकारी दिए ।
नयाँ अनलाइन सूचीकरण हुँदा अनिवार्य आचारसंहिता अभिमुखीकरणमा सामेल हुनुपर्ने अभ्यासले सचेतना बढ्ने विश्वास रहेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।
प्रेस स्वतन्त्रता र उत्तरदायी पत्रकारिता एकै सिक्काका दुई पाटा भएको उल्लेख गर्दै आचारसंहिता र विभिन्न निर्देशिकाबारे जागरण ल्याउन विज्ञहरूको रोष्टर बनाइ अभिमुखीकरणलाई निरन्तरता दिइएको बताएका हुन् ।
सहभागीमध्ये आवश्यक प्रक्रिया पुगेका अनलाइन सञ्चार माध्यमलाई प्रमाणपत्र र आचारसंहिता उल्लेखित फ्लेक्स वितरण गरिएको थियो ।
कार्यक्रममा मुख्य अधिकृत झविन्द्र भुसाल, उपप्रशासकीय अधिकृत रामशरण बोहरालगायत विभिन्न नयाँ अनलाइन सञ्चार माध्यमका भौतिकरूपमा ३० र जुममार्फत विभिन्न जिल्लाका १९ जनाको सहभागिता रहेको थियो ।




















प्रतिक्रिया दिनुहोस्