हेटौंडा । बिहानको करिब आठ बज्दै थियो । हेटौंडा–२, मनकामना चोक विस्तारै ब्युँझँदै थियो। सडक किनारका पसलहरू खुल्दै थिए, चियाका गिलासबाट बाफ उड्दै थियो, अनि एउटा सानो कोठाभित्र भने अर्को दिनको संघर्ष सुरु भइसकेको थियो। ठूलो भाँडोमा सोयाबिन उम्लिरहेको थियो । केही बेरपछि त्यही सोयाबिनबाट पोषणयुक्त तोफु तयार हुन्छ । हातमा पन्जा लगाएर काममा व्यस्त थिइन् अरिमा कडेँल । केही वर्षअघिसम्म घरधन्दामै सीमित उनको परिचय अहिले सफल महिला उद्यमीका रूपमा फेरिएको छ । “सीप सिकेपछि जीवन नै बदलियो,“ उनी मुस्कुराउँदै भन्छिन्। “पहिला खर्चका लागि श्रीमान्को कमाइ कुर्नुपर्थ्यो। अहिले आफ्नै कमाइ छ। घर चलाउन मात्र होइन, भविष्यका लागि पनि बचत गर्न थालेकी छु । “अरिमाको कथा एउटा व्यक्तिको सफलता मात्र होइन। यो हेटौंडा उपमहानगरपालिकाले सीप विकासमार्फत स्थानीय अर्थतन्त्र परिवर्तन गर्ने प्रयासको प्रतिनिधि कथा हो ।
बागमती प्रदेशको राजधानी बनेपछि हेटौंडाले प्रशासनिक महत्त्व त पायो, तर त्योभन्दा ठूलो चुनौती पनि सँगै आयो—बढ्दो जनसंख्या, बेरोजगारी, वैदेशिक रोजगारीको आकर्षण र स्थानीय आर्थिक अवसरको अभाव। यी चुनौतीबीच उपमहानगरपालिकाले एउटा फरक बाटो रोज्यो । नागरिकलाई राहत बाँड्ने होइन, सीप बाँड्ने। किनकि सीप भनेको एकपटक दिइने सहायता होइन, जीवनभर आम्दानी गर्ने आधार हो । आज हेटौंडामा सञ्चालन भइरहेका सीपमूलक तालिमले यही सोचलाई व्यवहारमा उतारिरहेका छन्। बरिस्ता, ब्युटी पार्लर, सिलाइ–कटाइ, हाते कढाइ, ड्राइभिङ, दालमोठ, आलु चिप्स, तोफु उत्पादन, अगरबत्ती निर्माण, बेसार प्रशोधनलगायतका तालिमले सयौं युवायुवती र महिलाको जीवनमा नयाँ सम्भावना जन्माइरहेका छन् ।
बजारको मागसँग जोडिएको तालिम
पहिले सरकारी तालिम भनेपछि औपचारिकता पूरा गर्ने कार्यक्रम भन्ने धारणा थियो। तर हेटौंडामा सञ्चालन भइरहेका अधिकांश तालिम बजारको मागलाई ध्यानमा राखेर छनोट गरिएका छन् । कफी संस्कृतिको विस्तारसँगै बरिस्ताको माग बढेको छ। सौन्दर्य व्यवसाय विस्तार भएकाले ब्युटी पार्लर तालिम लिएका महिलाले घरमै सेवा दिन थालेका छन्। स्वास्थ्यप्रति बढेको सचेतनासँगै तोफु र स्वस्थकर खाद्य सामग्रीको बजार पनि विस्तार भइरहेको छ ।
उपमहानगरपालिकाले सीटीईभीटीबाट मान्यता प्राप्त संस्थामार्फत तालिम सञ्चालन गरेकाले प्रशिक्षार्थीले आधुनिक प्रविधि र व्यावसायिक अभ्यास सिक्ने अवसर पाएका छन्। धेरै प्रशिक्षक आफैं व्यवसाय सञ्चालन गरिरहेका भएकाले उनीहरूले पुस्तकको ज्ञान मात्र होइन, बजारको वास्तविक अनुभव पनि बाँड्ने गरेका छन्।
तालिमपछि के हुन्छ ?
सीप सिक्नु एउटा सुरुआत मात्र हो। त्यसपछि सुरु हुन्छ वास्तविक परीक्षा। ग्राहक खोज्ने, उत्पादनको गुणस्तर कायम गर्ने, बजारमा प्रतिस्पर्धा गर्ने र व्यवसायलाई टिकाइराख्ने चुनौती आउँछ । यही चरणमा कतिपय प्रशिक्षार्थीलाई थप सहयोग आवश्यक पर्छ । तालिमपछि व्यवसाय कसरी दर्ता गर्ने, प्याकेजिङ कसरी गर्ने, सामाजिक सञ्जालमार्फत बिक्री कसरी बढाउने, सहुलियत ऋण कसरी लिने भन्ने विषयमा पनि परामर्श आवश्यक देखिन्छ । धेरै सहभागीको भनाइमा, यदि तालिमसँगै व्यवसाय परामर्श र बजार व्यवस्थापनसम्बन्धी सेवा जोड्न सकियो भने सफल उद्यमीको संख्या उल्लेखनीय रूपमा बढ्न सक्छ ।
अझै बाँकी चुनौती
सकारात्मक उपलब्धिका बाबजुद कार्यक्रम पूर्ण भने छैन। विशेषगरी ड्राइभिङ, ब्युटी पार्लर र हाते कढाइजस्ता तालिममा सहभागीहरूले समयावधि छोटो भएको गुनासो गर्छन्। आधारभूत तालिमपछि उनीहरूलाई थप अभ्यासको आवश्यकता पर्छ ।
आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार ड्राइभिङ तालिम लिएका २० जनामध्ये केवल एक जनाले मात्रै पहिलो प्रयासमै सरकारी ट्रायल पास गर्न सके । बाँकीले निजी खर्चमा थप अभ्यास गरेपछि मात्रै लाइसेन्स पाए। यसले तालिमको अवधि र अभ्यासलाई अझ व्यावहारिक बनाउनुपर्ने देखाउँछ ।
अर्को चुनौती भनेको तालिमपछि बजारसँगको पहुँच हो। उत्पादन राम्रो भए पनि बजार नपाउँदा केही उद्यमी निराश हुने गरेका छन्। स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउने स्थायी संयन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता हो ।
डिजिटल सीपको खाँचो
विश्व श्रम बजार तीव्र रूपमा परिवर्तन भइरहेको छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल मार्केटिङ, ई–कमर्स, अनलाइन व्यापार, ग्राफिक डिजाइन र सूचना प्रविधिसम्बन्धी सीपको माग बढ्दो छ । हेटौंडाका धेरै युवा पनि अब यस्तै आधुनिक तालिम चाहन्छन्। परम्परागत सीपसँगै डिजिटल सीपलाई जोड्न सकिए उनीहरूले स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नेछन् । विदेश जानेहरूले पनि उच्च आम्दानी हुने अवसर पाउनेछन् । 
सीपसँगै उद्यमशीलता पनि
विशेषज्ञहरूका अनुसार तालिमको अन्तिम उद्देश्य प्रमाणपत्र वितरण होइन, उद्यमी उत्पादन हुनु हो। त्यसका लागि तालिमपछि पनि निरन्तर साथ आवश्यक हुन्छ। सहुलियत ऋण, व्यवसाय दर्ता, ब्रान्डिङ, लेबलिङ, अनलाइन बजार, प्रदर्शनी तथा उद्यमी सञ्जालसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न सकिए तालिमको प्रभाव धेरै गुणा बढ्न सक्छ । हेटौंडामा अहिले देखिएका केही सफल व्यवसायहरू यही सम्भावनाका उदाहरण हुन्। सानो लगानीबाट सुरु भएका व्यवसायले अहिले परिवारको आय मात्र बढाएका छैनन्, अरूलाई पनि रोजगारी दिन थालेका छन् ।

परिवर्तनको संकेत
कुनै पनि समाजको विकास ठूला भवन वा चौडा सडकले मात्र मापन हुँदैन। जब एउटी गृहिणी आफ्नै कमाइबाट छोराछोरी पढाउन सक्षम हुन्छिन्, जब कुनै बेरोजगार युवा आफ्नै व्यवसाय सुरु गर्छ, जब किसानले आफ्नो उत्पादनको मूल्य आफैं निर्धारण गर्न थाल्छ, त्यहीँबाट वास्तविक आर्थिक रूपान्तरण सुरु हुन्छ । हेटौंडामा अहिले यस्तै परिवर्तन बिस्तारै देखिन थालेको छ। यो परिवर्तन ठूलो नाराबाट होइन, साना–साना सीप, मेहनत र आत्मविश्वासबाट सम्भव भएको हो ।
समृद्धिको बाटो अझै खुला छ
आज मनकामना चोकमा अरिमा कडेलले बनाएको तोफु केवल एउटा खाद्य परिकार होइन, त्यो आत्मनिर्भरताको प्रतीक हो। हेटौंडाका विभिन्न वडामा सञ्चालन भएका दालमोठ, धूप, बेसार, हस्तकला र अन्य उद्यम पनि यस्तै परिवर्तनका प्रतीक हुन् ।
यदि उपमहानगरपालिकाले तालिमलाई अझ व्यावहारिक बनाउने, समयावधि आवश्यकताअनुसार बढाउने, तालिमपछि बजार र वित्तीय पहुँच सुनिश्चित गर्ने तथा डिजिटल र अन्तर्राष्ट्रिय स्तरका सीप विकास कार्यक्रमलाई प्राथमिकता दिने हो भने हेटौंडाले नयाँ आर्थिक पहिचान बनाउन सक्छ ।

त्यसपछि हेटौंडा केवल बागमती प्रदेशको प्रशासनिक राजधानी मात्र रहने छैन । यो सीपको राजधानी, उद्यमशीलताको केन्द्र र आत्मनिर्भर अर्थतन्त्रको राष्ट्रिय नमुना बन्न सक्छ । समृद्धिको सपना त्यसबेला नारामा सीमित रहने छैन; हजारौं नागरिकको दैनिकीमा महसुस हुने यथार्थ बन्नेछ ।

रोहित थापा क्षेत्री 




















प्रतिक्रिया दिनुहोस्