हेटौंडा । हेटौंडा–१०,स्थित टिसीएन चौरमा मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी दोस्रो वृहत् खेलकुद,कृषि तथा पर्यटन महोत्सवमा आज आइतबारबाट मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुने भएको छ । आज आइतबारबाट सुरु भएर टिसीएन चौरमा मंगलबार सम्म प्रतियोगिता सञ्चालन हुने मकवानपुर जिल्ला भलिबल संघका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिएका छन् ।
लिगकम नआउटको प्रणालीमा सञ्चालन हुने मकवानपुर जिल्लाभरबाट ८ वटा टिमको सहभागिता रहने आयोजक समितिका नरेन्द्र मोक्तानले बताए । मकवानपुर जिल्ला भलिबल संघको सहकार्यमा हुने प्रतियोगिताको उद्धाटन खेलमा थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लब र हेटौंडा–१५,स्थित सफल केयर क्लबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता दिउँसो ११ बजेबाट सुरु हुने सदस्य मोक्तानले बताए । क्वार्टरफाइनल सम्मको खेल बेष्ट अफ ३ मा हुने र सेमीफाइनको खेल बेष्ट अफ ५ मा हुने उनले बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पराजित हुने दुई टिमले १५÷१५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा ७ वटा विधाका खेलाडीहरुलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ भने अन्य उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक र उद्यान खेलाडीलाई २÷२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ । महिला भलिबल प्रतियोगिता भने चैत ४ गतेबाट सुरु हुनेछ । प्रतियोगितामा महिला खेलाडीको सहभागिता बढाउनका लागि पुरुषको भन्दा अधिक पुरस्कार राशि महिलाको प्रतियोगितामा व्यवस्था गरिएको छ ।




















प्रतिक्रिया दिनुहोस्