- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक अगुवा भीमबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । व्यास नगरपालिका–१ रत्यौली निवासी एक सय वर्षीय बस्नेतको निधनप्रति वरिष्ठ नेता पौडेलले दुःख व्यक्त गर्नुभएको हो । पौडेलले आज शोक वक्तव्य जारी गरी बस्नेतको निधनले एक कुशल सामाजिक एवं राजनीतिज्ञ गुमाउनुपरेको उल्लेख गर्नुभएको छ । पौडेलले स्व बस्नेतका छोरा एवं व्यास–१ का वडा सदस्य मणिजङ बस्नेतलगायत समस्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । बस्नेतको शनिबार राति निवासमै निधन भएको हो । राप्रपा तनहुँका संस्थापकसमेत रहनुभएका बस्नेतको सामाजिक एवं राजनीतिक क्षेत्रमा उल्लेख्यनीय योगदान रहेको थियो । बस्नेतले दमौलीका विभिन्न शैक्षिक तथा सामाजिक सङ्घसंस्थामा रहेर योगदान पु¥याउनुभएको थियो । स्व बस्नेतको आज दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । बस्नेतको पार्थीव शरीरमा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । बस्नेतको निधनले यस क्षेत्रले सामाजिक अगुवा गुमाएको भन्दै विभिन्न व्यक्तिले दुःख व्यक्त गर्नुभएको छ । व्यास नगरपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले बस्नेतको निधनले एक कुशल व्यक्तित्व गुमाउनुपरेको भन्दै दुःख व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । –––रासस



















प्रतिक्रिया दिनुहोस्