मनहरी–फागुन ३ गते । मकवानपुरको मनहरीमा अब देखि दैनिक आँखा उपचार, परामर्श तथा चश्माको समेत व्यवस्थापन हुने भएको छ ।
यसअघि साताको एकपटक आँखा जाँच हुँदै आएकोमा आँखा केन्द्रको सेवा सुधारका लागि मनहरी गाउँपालिका र हेटौँडा सामुदायिक आँखा अस्पतालले प्राविधिक रुपमा व्यवस्थापन गरेको हो ।

दैनिक आँखा उपचार, परामर्श तथा चश्माको समेत व्यवस्थापन हुने भएको हो

मनहरी वडा नम्बर ७ स्थित रेडक्रस भवनमा नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती लगायत स्वदेशी तथा विदेशी पाहूनाको उपस्थितिमा सामुदायिक आँखा केन्द्रको उद्घाटन गरिएको हो ।

कार्यक्रममा ७ नं वडाध्यक्ष तथा मनहरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ठाकुरराम तितुङले स्वागत गरेका हुने भने हेटौँडा सामुदायिक अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली, तिलगंगा आँखा अस्पताल अन्तर्गतका नेपाल आँखा कार्यक्रमका आउटरिच म्यानेजर डाक्टर मोहन श्रेष्ठ, योन्साइ युनिभर्सिटी अफ हेल्थ सिस्टम दक्षिण कोरियाकी परियोजना ब्यवस्थापनक येजु ली, नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखा सभापति नुरोजकुमार पौडेल, नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सामुदायिक आँखा केन्द्रमा मनहरी गाउँपालिका र सामुदायिक आँखा अस्पताल हेटौँडाको साझेदारितामा भौतिक पूर्वाधारहरु र उपचारका उपकरणहरुको व्यवस्थापन समेत गरिएको छ ।
गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र सभापति नारायण सुवेदी, खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष भुवनकुमार जोशी, रेडक्रसका पदाधिकारीहरु, स्वास्थ्यकर्मीहरु तथा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको सहभािगता रहेको थियो ।