मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्र विकासका लागि सबैले साझा संकल्प लिनुपर्ने बताउनुभएको छ ।
आज वैशाख १ बाट सुभारम्भ भएको नयाँ वर्षका अवसरमा शुभकामना जारी गर्दै प्रमुख शर्माले भन्नुभएको छ, ‘प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देश यस वर्षबाट ति साधनहरुको समुचित उपयोग गरी समुन्नत राष्ट्र निर्माण गर्न र अति कम विकसित राष्ट्रको अवस्थाबाट माथि उठाउन सबैले साझा संकल्प गर्नुपर्छ ।’ शर्माले शुभकामना सन्देशमा अर्थतन्त्रमा देखिएको संकट समाधानका लागि प्रत्येक प्रदेशको राजधानी वा उपयुक्त स्थानमा ठूला–ठूला उद्योग, आयोजना संचालनमा ल्याइनुपर्ने जोड दिनुभएको छ । ‘प्रत्येक प्रदेशको राजधानी वा उपयुक्त स्थानमा सुविधासम्पन्न अस्पतालहरु, ठूला–ठूला जलविद्युत आयोजनाहरु, कृषि फार्महरु, प्राविधिक शिक्षालयहरु, सुविधायुक्त पर्यटकीय क्षेत्रहरु र उद्योगहरुको स्थापना गर्न सक्यौं भने मात्रै रोजगारीका अवसरहरु सृजना हुनेछन,उत्पादन वृद्दि हुनेछ, आयात विस्थापन भई निर्यात बढ्नेछ र देशको अर्थतन्त्रमा देखिएको संकटलाई सामना गर्न सकिनेछ । यस विषयमा संघीयदेखि सबै तहका सरकारहरुकोे ध्यानाकर्षण हुनु अत्यन्त जरुरी छ ।’
प्रमुख शर्माले देशलाई आर्थिक, सामाजिक एवं राजनीतिक रुपमा प्रगतिको गोरेटोतर्फ लम्काउनका लागि सबैले अहम् भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले भित्ताहरुमा नववर्षको पात्रो झुण्डिनु प्रगतिको द्योतक हुन नसक्ने बताउँदै यसका लागि अनुकरणीय अभ्याससहित आ–आफ्नो कर्मयात्रालाई सबै क्षेत्रबाट निरन्तरता दिइनुपर्नेमा जोड दिनुभएको छ । उहाँले नयाँ वर्षले राष्ट्र निर्माणको गतिलाई थप उचाईमा पु¥याउन, जनअपेक्षा अनुसार कार्य सम्पादन हुन र एउटा सम्पन्न राष्ट्र निर्माणको आधार तयार गर्ने प्रेरणा प्राप्त होस् भन्ने अपेक्षा समेत राख्नुभएको छ ।
























प्रतिक्रिया दिनुहोस्