
मकवानपुरको बागमती गाउँपालिकामा रहेको जनता माविमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै चौतर्फी बिरोध भइरहेको छ ।
वडा नम्बर–८ फापरबारी स्थित विद्यालयमा तीन जना शिक्षकहरुले यौन दुरव्यवहार गरेको आरोप लगाउँदै विरोध जनाए ।
विद्यालयका शिक्षक रुद्र विक, हेम विक र लोक विकले गलत नियतले छुने गरेको भन्दै कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले आरोप लगाएपछि विद्यालयमा तोडफोड गर्दै तालाबन्दी समेत गरेका हुन् ।
बालिकामथि यौन दुर्व्यवहार भएको विद्यालयमै उजुरी दिएपनि उजुरीको सुनुवाई नभएको भन्दै तनावग्रस्त बनेको हो भने आरोपित शिक्षकहरु विद्यालयमा आए पढ्न नसक्ने भन्दै तत्काल ति शिक्षकहरुलाई निष्काशनको माग समेत गरेका छन् ।
इलाका प्रहरी कार्यालय फापरबारी प्रहरी प्रमुख कमलकुमार लुङ्गेली सहितको प्रहरी टोली घटना स्थल पुगेका थिए भने आरोपित शिक्षक बिदामा बसेको र प्रहरीमा आरोपित विरुद्ध कुनै जाहेरी नआएको प्रहरी प्रमुख लुङ्गेलीले बताएका थिए ।
यसैक्रममा घटनाको विषयमा जानकारी लिन स्थलगत निरीक्षणका लागि सिविन हेल्पलाइन, सेलर्ड, राडो नेपाल, हिमराइट्स, शान्ति फाउण्डेसन, ग्रामीण महिला सेवा केन्द्र, सञ्चारिका समूह, नारी सीप सिर्जना केन्द्र लगायत अधिकारकर्मीहरु पुगेका हुन् । हिंसाविरुद्धमा कार्यरत संघसंस्थाहरुको टोलीनै घटनास्थलमै पुगेर पीडित विद्यार्थीसँग भेटघाट गरि कुरा गरिएको मानव अधिकार संरक्षण तथा मानव वेचविखनविरुद्धको सञ्जालका संयोजक आरती पाठकले बताइन् ।
पत्रकार सम्मेलनको आयोजना गर्दै उनले ‘छात्रामाथि भएको व्यवहार जघन्य अपराध भएको र प्रहरी प्रशासनले गहन अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताएकी हुन् ।
यता बिद्यालयका प्रधानाध्यापक बसन्त राईले पनि विद्यालयमा अध्ययनरत छात्राहरुमाथि केही शिक्षकहरूले यौन दुरव्यवहार गरेको भनेपछि उत्पन्न भएको परिवेशले दुःख लागेको बताएका छन् ।
बाल मैत्री र भय रहित ढङ्गबाट शिक्षण प्रदान गरिने विद्यालय हुनुपर्छ भन्ने मान्यतामा रहेको अवस्थामा कक्षा कोठाभित्र बाल बालिकाप्रति शिक्षकबाट दुर्व्यवहारका आरोप दुर्भाग्यपूर्ण भएको उनको भनाई छ ।
बिद्यालयको तर्फबाट एक विज्ञप्ती जारी गर्दै सबैको सकारात्मक सहयोगको अपेक्षा गर्दै सत्यतथ्य छानविनको लागि सम्बन्धित निकायमा निवेदन पेश गरिएको उल्ल्ेख गरेका छन् ।
प्रेस विज्ञप्ति
यस विद्यालय मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा एउटा अलग्गै पहिचान बनाएको नमुना विद्यालय हो । अभिभावक,जनप्रतिनिधि,राजनीतिक दल, विव्यस, शिक्षक, विद्यार्थी सबैको साथ, सहयोग, लगन र परिश्रमबाट आज यस विद्यालय जिल्लाकै देखिने सुनिने विद्यालयमा दर्ज भएको छ । बिगत केही दिन अघिदेखि विद्यालयमा अध्ययनरत छात्राहरुले आफूमाथि केही शिक्षकहरूले कक्षा कोठाभित्र दुर्व्यवहार गर्ने गरेको भनी आरोप लगाएपछि उत्पन्न भएको परिवेशप्रति विद्यालय परिवार गहिरो दुःख प्रकट गर्दछ । विद्यालयमा बाल मैत्री र भय रहित ढङ्गबाट शिक्षण हुनुपर्छ भन्ने मान्यतामा विद्यालय परिवारको कुनै दुई मत छैन । कक्षा कोठाभित्र बाल बालिकाप्रति शिक्षकबाट दुर्व्यवहार भयो भन्ने आरोप आउनु आफैमा दुर्भाग्यपूर्ण छ । विद्यार्थीहरुले लगाएका आरोपप्रति विद्यालय परिवारको गम्भीर ध्यानाकर्षण भएको छ । घटनाको सत्यतथ्य छानविन नभएसम्म को सही को गलत भन्ने अवस्था रहन्न । दुर्व्यवहारको आरोपलाई विद्यालय तवरबाट समाधान गर्न कानुनी बाधा अड्चन आइपर्ने भएकोले सत्यतथ्य छानविनको लागि सम्बन्धित निकायमा निवेदन गरिएको छ । कानुनी तवरले सत्यतथ्य छानविन नभएससम्म शिक्षक तथा बालबालिकालाई दोषी करार गर्न सकिन्न यसर्थ स्थानीय तथा राष्ट्रिय मिडियाहरुलाई सत्यतथ्य नबुझी प्रचारबाजी तथा सामाग्री प्रकाशन प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौ । विद्यालयको वार्षिक परीक्षा तथा बोर्ड परीक्षा केही दिनमा संचालन हुने भएकोले पठन पाठनको वातावरण तयार गर्न सम्बद्ध सबै पक्षको जिम्मेवारी हो । सम्बद्ध सबै पक्षको सल्लाह सुझाव तथा सहमतीमा मिति: २००८ चैत्र २७ गते आइतबार बाट सबै कक्षाको नियमित पठन पाठन कार्य सूचारु हुने छ । सबैको सकारात्मक सहयोगको अपेक्षा सहित धन्यबाद ।
मिति २०७८ चैत्र २३ गते
प्रतिक्रिया दिनुहोस्