कपिलवस्तु — दुई महिनाकी गर्भवतीको हत्या भएको आशंकामा प्रहरीले गाडेको शव निकालेर अनुसन्धान थालेको छ ।

यशोधरा गाउँपालिका–८ सिंहोखोरकी २१ वर्षीया रहिसुननिशा मुसलमानलाई झुन्ड्याएर हत्या गरेको दाबी गर्दै उनका बाबु असगरअली मुसलमानले प्रहरीमा जाहेरी दिएपछि गाउँ नजिकै कर्बलामा गाडिएको शव निकाल्न प्रहरी पुगेको हो । शनिबार शव उत्खनन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

घटनास्थलमा शनिबार शव उत्खनन गर्दै प्रहरी ।

६ फिट लम्बाइ, साढे ३ इन्च चौडा र ५ फिट गहिराइबाट शव निकालिएको हो ।

प्रहरीको सिन अफ क्राइम अफिसरको टोली पुगेर प्रमाणदसी नष्ट नहुने गरी शव उत्खनन गरेको थियो । अपराध अनुसन्धानमा दखल राख्ने प्राविधिक प्रहरीको उक्त टोलीले मृतकको फिंगर प्रिन्ट लिने, शव उठाउने र फोटो लिने लगायतका काम गरेको थियो ।

गाडिएको शव झिक्दा जिल्ला अस्पताल तौलिहवाका मेडिकल अधिकृत डा.जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधिवक्ता खडानन्द पोख्रेल र निमित्त प्रहरी प्रमुख डीएसपी धर्मराज भण्डारी पनि उपस्थित थिए ।

शव पोस्टमार्टम गर्न आइतबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो ।

‘घटना शंकास्पद छ,’ डीएसपी भण्डारीले भने, ‘जिल्लामा पोस्टमार्टमको विषय विज्ञ नहुँदा बुटवल पठाइएको हो ।’ शवबाट भिसेरा झिकेर परीक्षणका लागि प्रहरीको प्रयोगशाला नेपालगन्ज पठाइएको छ । दुई महिनाकी गर्भवती रहेकी उनको मृत्युपछि माइती पक्षलाई खबर नगरी गाउँमै गुपचुप शव गाडिएको थियो । छरछिमेकले समेत थाहा नपाएको बताएका छन् ।

नजिकका दुई–चार जना आफन्त बोलाएर मुस्लिम धार्मिक परम्पराअनुसार संस्कार गरिएको थियो । गाउँलेले नै भारतीय सीमा क्षेत्रको गाउँ अटकोनिया बस्ने मृतकका बाबुलाई खबर गरेपछि उनी आएर प्रहरीमा जाहेरी दिएका हुन् ।

मृतकका बाबुले सीमा प्रहरी चौकी मर्यादपुरका प्रमुख नायब निरीक्षक तक्की खानलाई छोरीको हत्या भएको भन्दै सूचना दिएका थिए । खानले चासो नलिएपछि बाबु जिल्ला प्रहरीमा आएर जानकारी दिए । त्यसपछि जिल्लाबाट गएको टोलीले शव निकालेको हो । शरीरमा चोटपटक नभए पनि घाँटीमा डाम देखिएपछि आशंका उब्जिएको छ । कानुनी प्रक्रिया नपुर्‍याई गुपचुप शव गाडिएकाले आशंका उब्जिएको प्रहरी भनाइ छ । पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने डीएसपी भण्डारीले बताए ।

प्रहरीले २२ वर्षे श्रीमान् मोहम्मद नसिम अलिभाट मुसलमान र ५० वर्षे ससुरा अब्बास अलिभाट मुसलमानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनको गत जेठमा विवाह भएको थियो । मृतकसँग घरपरिवारको बारम्बार झैंझगडा भइरहने स्थानीयले बताएका छन् । उनी माइतीकी एक्ली सन्तान थिइन् ।

news बाट  ekantipur.com/newsसाभार ।