हेटौंडा । हेटौंडा–२,स्थित सिद्धार्थ माध्यमिक विद्यालयले ५० औं वर्ष पूरा भएको अवसरमा माघ २ गतेबाट स्वर्ण महोत्सव कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार विद्यालयको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २ गतेदेखि माघ ८ गतेसम्म स्वर्ण महोत्सव कार्यक्रमको आयोजना गर्न लागेको विद्यालयका प्रधानाध्यापक एव्म महोत्सव समितिका सदस्य सचिव परमानन्द सरोज कर्ण यादवले जानकारी दिएका छन् । यस अघि स्वर्ण महोत्सवको कार्यक्रम पहिले हेटौंडा आँखा अस्पतालको सहायोगमा निःशुल्क आँखा शिविर र विद्यार्थीका लागि निःशुल्क दन्त शिविरको अयोजना गरिएको थियो ।

माघ २ गते विद्यालयमा सरसफाई, माघ ३ गते बिहान १० बजे रक्तदान कार्यक्रम र शैक्षिक सामाग्री प्रर्दशनी कार्यक्रमको आयोजना गरिने प्रधानाध्यापक सरोज कर्णले बताए । माघ ४ गते झाँकी ¥यालीसहित विभिन्न कार्यक्रम गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्धाटन गरिने कार्यतालिका रहेको उनले बताए । यस्तै, माघ ५ गते पूर्वविद्यार्थी भेला एव्म विद्यार्थीको अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु, माघ ६ गते नगरस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता हुनेछ । जसका विजेता समूहले ५० हजार रुपैयाँको नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

माघ ७ गते विद्यालयको वृह्त साँस्कृतिक कार्यक्रम, शैक्षिक तथा खेलकुद पुरस्कार वितरण र माघ ८ गते कार्यक्रमको समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने उनले बताए । विद्यालयले स्वर्ण महोत्सव कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न् गर्न हेटौंडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा ५०१ सदस्य समिति गठन गरेको छ । विद्यालयमा हाल १ हजार ८ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत रहेका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी