हेटौंडा । हेटौंडा–२,स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आइतबारबाट सुरु हुन लागेको स्वर्ण जयन्ती समारोह कार्यक्रमका लागि विद्यालय अध्ययनरत विद्यार्थीले सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूले सानो सानो रकम संकलन गरी एक सातासम्म चल्ने स्वर्ण महोत्सवका सहयोग गरेका हुन् ।
विद्यालयमा अध्यनरत विद्यार्थीबाट संकलन गरेर जम्म भएको करिब ४ हजार ४ सय २५ रुपैयाँको रकम विद्यालयकी बाल क्लबकी अध्यक्ष कृतिका हुमागाईंले स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनलाई एक औपचारिक समारोहकाबीच हस्तान्तरण गरेकी छिन् ।
आफ्नो विद्यालयमा हुन गइरहेको ऐतिहासिक स्वर्ण जयन्ती कार्यक्रमप्रति कर्तव्यबोध गर्दै विद्यार्थीहरूले देखाएको उत्साहपूर्ण र सकारात्मक पहल प्रशंसनीय रहेको स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनले बताए । यस किसिमको स्वतःस्फूर्त सहभागिताले विद्यालयप्रतिको अपनत्व, जिम्मेवारी र सामाजिक चेतनाको उच्च भावना झल्काएको उनले बताए ।
हस्तान्तरण कार्यक्रममा बाल क्लबकी अध्यक्ष कृतिका हुमागाईंले विद्यालयमा यस्तो ऐतिहासिक कार्यक्रम हुँदैछ भन्ने कुरा थाहा पाएपछि आफूहरुले पनि सानो भए पनि सहयोग गर्नुपर्ने महसुस गरेको बताइन् । विद्यालयप्रति आफ्नो जिम्मेवारी र प्रेम प्रकट गर्ने अवसर प्राप्त भएको बताउँदै उनले भनिन्- हामी सबै विद्यार्थीहरूलाई थाहा छ, साना साना कदमहरूले ठूलो फरक पार्न सक्छ।”त्यसैले सहयोग गरेका हौं ।
सहयोगको रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्ण, २ नम्बरका वडा सदस्य सुरज बर्तौला, प्याब्सन मकवानपुरका अध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी विनोद सुवेदी लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया दिनुहोस्