हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि सामाजिक अभियान्ता आशिका तामाङले उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । काठमाडौं महानगरपालिका क्षेत्र नम्बर–२ र क्षेत्र नम्बर–९ बाट आशिका तामाङले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेकी हुन् ।

जेनजीहरुले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहना संसदभित्र मात्र नभइ सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व गर्नुपर्छ भन्ने भावनाले उम्मेद्वारी दिने निर्णय गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले युवा पुस्ताको भावनाको कदर, सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा र भ्रष्टाचार विरुद्धको निरन्तर लडाइँ गर्ने अठोटसहित उम्मेद्वारी दिने बताइन् ।

विगतको केहि सातादेखि पछिल्लो राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने वा नगर्ने विषयमा गम्भीर छलफल गर्दै सरोकारवालासँग प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण सञ्चालन र विशेषगरी जेनजीसँग उनीहरूको अपेक्षा, चिन्ता, मुद्दा र चाहनाबारे खुला छलफल गरेको बताउँदै उनले भनिन्‌– ती सबै सुझाव, व्यवहार र विचारलाई सम्मान गर्दै अनुभव र जनभावनालाई मनन गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णय गरेकी हुँ ।

रातो समाचार संवाददाता
थप जानकारी