भदौ २९ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

बुधबार राष्ट्रपति कार्यालयमा लीले शिष्टाचार भेटवार्ता गर्नुभएको हो। भेटका क्रममा राष्ट्रपति भण्डारीले चीनको सामाजिक र आर्थिक विकासबाट नेपालसहित विश्वले सिक्नुपर्ने बताउनुभएको छ।

नेपाल एक चीन नीतिप्रति सदैब प्रतिबद्ध रहँदै आएको र सो अनुसारको कार्य पनि गरेको स्पष्ट पार्नुहुँदै राष्ट्रपति भण्डारीले यस्ता उच्च तहको भ्रमणले नेपाल र चीनबीच रहिआएको सदियौँ पुरानो सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार  शिष्टाचार भेटमा नेपाल र चीन सुख दुःखका साथी भएको राष्ट्रपतिले उल्लेख गर्नुभएको छ। दुई देशले प्राकृतिक प्रकोप र विकास निर्माणमा साझेदारी गर्दै आएको कुरालाईसमेत उहाँले स्मरण गर्नुभएको अधिकारीको भनाइ छ। राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी चीन फिङको नेतृत्वमा चीनले गरेको सामाजिक र आर्थिक विकासका लागि उहाँलाई बधाई दिनुभएको छ।

उच्च स्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुहुँदै अध्यक्ष लीको भ्रमण सफल हुने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ।

गोरखापत्रबाट साभारछ ।