हेटौंडा। सप्तरी प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। जिल्लाको कन्चनरुप नगरपालिका–२ स्थित बसबन्दरामा आइतबार राति करिब १०:३० बजे जाँचका क्रममा प्रहरीले उक्त लागूऔषध फेला पारेको हो ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी उपेन्द्रबहादुर पुरीको निर्देशनमा इन्स्पेक्टर सरतबहादुर राई तथा प्रहरी टोलीले विशेष सूचनाका आधारमा प्रदेश २–०३–००१ ख ७९५४ नम्बरको ट्रक जाँच गर्दा कारोबारमा प्रयोग गरिएको १७८ केजी गाँजा भेटिएको हो ।
गाँजा २८ वटा सेतो प्लास्टिकका बोरामा भरिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । ट्रक चालक ३२ वर्षीय सनोज श्रेष्ठलाई घटनास्थलमै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चालकले सर्लाहीबाट काठमाण्डौ तर्फ गाँजा लैजाँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद गरिएको गाँजा तथा पक्राउ परेका व्यक्तिमाथि थप कानुनी प्रक्रिया अघि बढाइएका छन् ।


































प्रतिक्रिया दिनुहोस्