गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले समाजलाई सही मार्गमा डोहो¥याउनेहरू नै भगवान् हुने बताउनुभएको छ । शिक्षासेवी जोर्ज जोनको नाममा स्थापित जोर्जजन शिक्षा प्रतिष्ठानको पोखरामा आज आयोजित २४आँै वार्षिकोत्सव, शिक्षासेवी सम्मान एवं छात्रवृत्ति वितरण कार्यक्रममा प्रदेश प्रमुख गुरुङले शिक्षाको ज्योति फैलाउने असल गुरुको रूपमा चिनिनुहुने जोर्जजोनको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले यदि भगवान् छन् भने जोर्जजोनलाई भगवान्को उपमा दिँदा फरक नपर्ने बताउनुभयो । उहाँले समाजलाई सकारात्मक मार्गमा लैजान शिक्षाको महत्व रहने जनाउँदै असल गुरुबाट मात्र त्यो सम्भव हुने धारणा राख्नुभयो ।

सो अवसरमा शिक्षाको क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो । यसरी सम्मानित हुनेमा बेनी क्याम्पस म्याग्दीका पूर्वअध्यक्ष बालकृष्ण सुवेदी, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा विकास केसी, प्राध्यापक डा मीन पुन, शितलादेवी सामुदायिक विद्यालय पोखराका अध्यक्ष टीकाबहादुर कार्की, महेन्द्र मावि घार्मी पोखराका पूर्वअध्यक्ष हुतराज शर्मा पौडेल, पृथ्वीनारायण क्याम्पसमा विगत ४३ वर्षदेखि कार्यरत कार्यालय सहायक मनसुबा थापा हुनुहुन्छ । उहाँहरूलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

सम्मानित व्यक्तिहरूको तर्फबाट बालकृष्ण सुवेदी, प्रा डा विकास केसी, पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा डा सरोज कोइराला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, प्रतिष्ठानका उपाध्यक्ष रामगोपाल ढेवाजु, प्रतिष्ठानका सदस्य अर्जुन अधिकारीले प्रतिष्ठान र जोर्जजोनको योगदानको बारेमा चर्चा गर्दै आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले जोर्जजोन र उहाँकी जीवनसङ्गिनी भारतको केरलाबाट पोखरा आएर पृथ्वीनारायण क्याम्पसको शैक्षिक उन्नयनका लागि खेलेको भूमिका निकै अतुलनीय रहेको चर्चा गर्दै उहाँले शिक्षा क्षेत्रको एक आदर्श व्यक्तित्वको रूपमा चित्रण गर्नुभयो । कार्यक्रमको संस्थागत उद्देश्यसहित स्वागत सदस्य अरुणा शेरचनले गर्नुभएको थियो भने प्रतिष्ठानका सचिव एवं प्रदेशसभा सदस्य राजीव पहारीले प्रतिष्ठानले शैक्षिक क्षेत्रमा गरेका उल्लेखनीय कार्यसँगै जोर्जजोनको बारेमा प्रष्ट्याउनुभएको थियो ।
–––
रासस

फाइल तस्विर